काठमाडौं । नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक समाजवादी पार्टीका सांसद एवं सचेतक उमाशंकर अरगरियासहित विभिन्न राजनीतिक हस्तीहरु एमालेमा प्रवेश गराउँनुभएको छ । उहाँहरुसँगै विभिन्न जिम्मेवारी लिएका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

शनिबार लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियासहित विभिन्न पार्टी परित्याग गरेका तीन हजार बढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन ओली जनकपुर पुग्नुभएको छ । पार्टी प्रवेश कार्यक्रमका लागि कार्यक्रम स्थलमा पुग्न उहाँले रेलको टिकट काटेर रेलमा यात्रा गर्नुभएको एमाले जिल्ला अध्यक्ष राज किशोर यादवले जानकारी दिनुभयो ।

विदेह नगरपालिकास्थित तीनकोरिया चोकमा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली धनुषा पुग्नुभएको थियो ।
जनकपुर विमानस्थलमा अवतरण गरेर उहाँ रेल चढेर धनुषाको महिनाथपुर स्टेसन पुग्नुभएको थियो ।

सोही क्रममा उहाँले महिनाथपुर स्टेशनमा रेल्वे कर्मचारीसँग कुराकानी गर्नुभयो । कुराकानीमा ओलीले ‘गाडी कतिपटक चल्छ ? कति प्यासेन्जर हुन्छ ? स्टाफको सुविधा के कस्तो छ’ भन्ने जिज्ञासा राख्नुभएको थियो ।
‘हामीले ट्रेनको संख्या पुगेन। धेरै भीडभाड भयो। अझै ट्रेन थप्नुपर्छ भन्यौं,’ कर्मचारी हेमबहादुर कटुवालले जानकारी दिनुभयो ।

ओलीसँगै महेश बस्नेत, सर्वेन्द्र खनाल, रघुवीर महासेठ, प्रभु साह लगायतका नेता पनि कार्यक्रममा सहभागी हुन पुग्नुभएको छ । कार्यक्रममा सहभागी हुनुअघि ओलीले मुरिवास्थित सहिद रामनरायण मण्डल मुरवलको शालिकमा माल्यार्पण गर्नुभयो ।

पछिल्लो समय एमालेले मधेसमा विभिन्न पार्टीका नेतालाई पार्टी प्रवेश गराउँदै आएको छ।

सम्बन्धित खबरहरु