काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा चिनियाँ राष्ट्रपति गिरफ्तार भएको खबर आगो जसरी फैलिएको छ । सामाजिक सञ्जालमा चीनका राष्ट्रपति सी जिनपिङलाई नजरबन्द गरेको खबर फैलिएपछि सबै हैरान छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ घरमै नजरबन्द भएको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सीजिनपिङ ह्यासट्यागसहित हजारौंले ट्वीट गरिरहेका छन् । भारतीय जनता पार्टी (भाजपा) का पूर्व सांसद सुब्रमण्यम स्वामीले पनि यसबारे ट्वीट गरेर जानकारी दिए । रोचक कुरा के भने, चिनियाँ कम्युनिष्ट पार्टी र सरकारी अखबार ग्लोबल टाइम्सले यसको पुष्टि वा खण्डन गरेको छैन ।

पूर्व सांसद स्वामीले लेखेका छन्, ‘चीनको बारेमा नयाँ अफवाह आएको छ, जसको छानबिन हुनुपर्छ । के सी जिनपिङ घरमै नजरबन्दमा छन् ? हालै, जिनपिङ समरकन्द (सांघाई सहयोग सङ्गठन) बैठकमा हुँदा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले उनलाई सेना प्रमुखको पदबाट हटाइएको विश्वास गरिन्छ । त्यसपछि उनी घरमै नजरबन्द भएको हल्ला चलेको छ ।’

धेरै चिनियाँ प्रयोगकर्ताहरूले देशमा "कू" को आशंका व्यक्त गर्दै ली क्योमिङ नयाँ राष्ट्रपति बन्ने दाबी गरिरहेका छन् । चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले सी जिनपिङलाई राष्ट्रपति पदबाट हटाएर सत्ता आफ्नै हातमा लिएको दाबी गरिएको हो । यो सँगै ली छ्याओमिङलाई चीनको नयाँ राष्ट्रपति बनाइएको खबर पनि भाइरल हुँदैछ ।

घुस लिएको अभियोगमा चीनमा एक पूर्वमन्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएपछि यो खबर अचानक बाहिर आएको हो । चीनको सार्वजनिक सुरक्षा विभागका पूर्व उपमन्त्री सन लिजुनलाई मृत्युदण्डको सजाय सुनाइएको खबर बाहिर आएको थियो । लिजुनले पदमा रहँदा अनुचित फाइदा उठाएको आरोप छ । उनीमाथि आफ्नो २० वर्षको कार्यकालमा ११ अर्ब रुपैयाँ भन्दा धेरै लाभ लिएको आरोप छ ।

चीनको सिन्ह्वा समाचारको २०२१ को समाचार अनुसार, उनलाई अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको आरोपमा कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो । ग्लोबल टाइम्सका अनुसार सनले ९१ लाख डलर बराबरको भ्रष्टाचार गरेका छन् । सन् २००१ भन्दा पहिले सेयर बजारमा ठगी गरेको आरोपमा सनलाई ८ वर्षको जेल सजाय भएको थियो ।

यससँगै अवैध बन्दुक राखेको अभियोगमा ५ वर्षको जेल सजाय र १ करोड ६० रुपैयाँ भन्दा धेरै जरिवाना समेत भयो । सन् २००१ देखि २०२० सम्म, पदमा रहँदा आफ्ना सहकर्मीहरूलाई अनुचित फाइदा पुर्‍याएको आरोप पनि सनमाथि लागेको छ । पूर्वमन्त्री सनले २० वर्षमा करिब ११ अर्ब भन्दा धेरैको अवैध नगद र सम्पत्ति घुस लिएका छन् । सोही कारण उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

चीनमा भ्रष्टाचार गरेको यो कुनै पहिलो मुद्दा होइन । २१ सेप्टेम्बरमा यस्तै घटना बाहिर आएको थियो, जसमा तीन प्रहरी प्रमुख दाओन, देङ हुलियन र लिउ जिन्युनलाई भ्रष्टाचारको आरोपमा दुई वर्षको जेल र मृत्युदण्डको सजाय सुनाइएको थियो ।

चीनका पूर्व कानुनमन्त्री एवं चीनका सबैभन्दा शक्तिशाली प्रहरी प्रमुखमध्येका एक फु झेङ्गुआलाई चीनको चाङचुनको जन अदालतले सेप्टेम्बर २२ मा १७.३ लाख अमेरिकी डलरको भ्रष्टाचार गर्नुका साथैं शक्तिको दुरुपयोग भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो । यी सबै प्रमुखहरू राष्ट्रति जिनपिङ विरोधी भएको बताइन्छ । सोही कारण उनीहरुलाई सजाय भएको धेरैको बुझाई रहेको छ । सजाय तोकिएका सबैमाथि जिनपिङविरुद्ध चलिरहेको राजनीतिक गुटको हिस्सा बनेको आरोप लागेको छ ।

 

सम्बन्धित खबरहरु