काठमाडौं । शनिबार दिनभरी चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमा नजरबन्द गरिएको समाचारले इन्टरनेटमा तहल्का मच्चाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरूले पिपुल्स लिबरेशन आर्मी (पीएलए) को प्रमुख पदबाट हटाएपछि सीलाई घरमै नजरबन्द गरेको दाबी धेरै चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरेका छन् ।

चिनियाँ जनताहरूले बेइजिङ सैन्य कब्जामा रहेको दाबीसहित भिडियो पनि साझा गर्दैछन् । न्यूज हाईल्याण्ड भिजनको एक रिपोर्टमा पूर्व चिनियाँ राष्ट्रपति हु जिन्ताओ र पूर्व चिनियाँ प्रधानमन्त्री वेन जिबाओले स्थायी समितिका पूर्व सदस्य सोङ पिङसँग मिलेर यो सबै कदम उठाएको भनेको छ ।

समाचार अनुसार सी सेप्टेम्बर १६ मा एससीओ सम्मेलनबाट फर्केपछि उनलाई विमानस्थलबाट हिरासतमा लिइएको थियो । यतिबेला सम्भवत: उनलाई हाल घरमै नजरबन्दमा राखिएको हुनुपर्छ । जनबोलीले यो समाचारलाई पुष्टि गर्न सक्दैन् । झट्ट हेर्दा यो अफवाह हो जस्तो लाग्छ ।

चीनबाट भर्खरै पूर्व उप–सार्वजनिक सुरक्षा मन्त्री सन लिजुनलाई जिलिन प्रान्तको चाङचुन सहरको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको खबर बाहिर आएको थियो । चाइना सेन्ट्रल टेलिभिजनको समाचार अनुसार उनलाई घुस लिएको अभियोगमा दोषी पाइएको हो ।

६४ करोड ६० लाख युआन (झण्डै १२ अर्ब रुपैयाँ) बराबर भ्रष्ट्राचार गरेको आरोप उनीमाथि लागेको छ । २० वर्ष पदमा रहँदा पटक पटक शेयर हेरफेर गरेको र अवैध बन्दुक राखेको आरोप पनि उनलाई लागेको छ ।

ब्लूमबर्गको एक रिपोर्टमा अदालतको त्यो फैसलाले प्रमुख कांग्रेस अगाडि पार्टीका उच्चपदस्थ अधिकारीहरूलाई हटाउने सीको इच्छालाई जोड दिएको कुरा उल्लेख छ । आफ्ना विरोधीहरुलाई निरन्तर ठेगान लगाउँदै आएका सीका लागि सन एक खत्तरा थिए ।

सीले तेस्रो कार्यकालको लागि पनि सत्तामा नजिर कायम गर्ने अपेक्षा गरिएको छ । १६ अक्टोबरको महाधिवेशनले आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व चयन गर्दैछ ।

हामीले सीसँग सम्बन्धित पछिल्लो समाचारको लागि चीनको सरकारी अखबार ग्लोबल टाइम्स जस्ता वेबसाइटहरूमा पनि हेर्यौँ । तर, त्यस्तो कुनै समाचार आएको छैन् । हामीले सीएनएन र बीबीसी जस्ता अन्तर्राष्ट्रिय वेबसाइटहरू पनि हेर्यौँ, त्यस्ता कुनै समाचारहरू फेला पार्न सकिएन् ।

सीलाई घरमै नजरबन्द गरेको खबर विश्व समाचार पक्का हुन्थ्यो । त्यसैले अहिलेको लागि हामी के कुरा पुष्टि गर्न सक्छौं भने चिनियाँ राष्ट्रति सी जिनपिङलाई घरमा नजरबन्द गरिएको भन्ने समाचार अफवाह र बढाइचढाइ मात्रै हो ।

दाबी
चिनियाँ सेनाले राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्द गरेर सत्ता आफ्नो हातमा लियो ।

सत्य
चीनको पछिल्लो समाचार पूर्व उप सार्वजनिक सुरक्षा मन्त्री सन लिजुनको सजायसँग जोडिएको छ । सीको गिरफ्तारीबारे कुनै विश्वसनीय जानकारी आएको छैन् ।

निष्कर्ष
शनिबार बिहानैदेखि भारतसहित विश्वभरका धेरै अनलाइनमा भाइरल बनेको सैन्य “कु” सम्बन्धी समाचार गलत हो ।

सम्बन्धित खबरहरु