काठमाडौं । गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज बिधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसै घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाईतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उहाँले बताउनुभयो ।

मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

बडादसैमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित कालोे बोकाको बलिदिने प्रचलन छ । यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो ।

मनकामना मन्दिरमो मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्परा अनुसार बिगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नु पर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताउनुभयो । गणेश र कलस स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उहाँको भनाइ थियो ।

घटस्थापनाका दिन सोमबार बिहान १०ः२३ मिनेटको शुभसाइतमा गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखानाथ मन्दिरको गुफामा राखिएको एक पाथी जौको जमरा । तस्विर : दीपक श्रेष्ठ/रासस

 

सम्बन्धित खबरहरु