काठमाडौं । दुनियाँलाई कोरोनाबाट जोगाउन खोप निर्माण गरेको कम्पनीका मालिक दोस्रो पटक कोरोनाको चपेटमा आएका छन् । फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बोर्लाले दोस्रो पटक कोरोना संक्रमित भएका छन् ।

फाइजर विश्वको पहिलो कम्पनी हो, जसको कोभिड खोपलाई विश्व स्वास्थ्य संगठनले स्वीकृत दिएको थियो । यति मात्र होइन, विश्वमा पहिलो पटक मानिसहरूले फाइजरको खोप लिएका थिए ।

फाइजरले आफ्नो कोभिड खोप विश्वका बाँकी खोपको तुलनामा सबैभन्दा प्रभावकारी रहेको दाबी गरेको थियो । यति हुँदाहुँदै पनि फाइजरका उच्च अधिकारी दोस्रो पटक कोभिडबाट संक्रमित भएपछि खोपको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ ।

संक्रमित भएपछि अल्बर्ट बोर्लाले आफू स्वस्थ भएको र संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् । ६० वर्षीय बोउला पहिलो पटक अगस्टमा कोभिडबाट संक्रमित भएका थिए । त्यसपछि उनले फाइजरको कोभिड एन्टिभाइरल उपचार प्याक्सलोभिड सुरु गरे ।

प्याक्सलोभिड एक एन्टिभाइरल औषधि हो, जुन उच्च जोखिम भएका व्यक्तिहरू जस्तै वृद्ध बिरामीहरूको उपचार गर्न प्रयोग गरिन्छ । बोर्लाले फाइजरको कोभिड खोपको चार डोज लिएका छन् ।

फाइजरले आफ्नो जर्मन पार्टनर बायोटेकसँगको सहकार्यमा यो खोप निर्माण गरेको हो । बोर्लाले एक विज्ञप्तिमा भने, ‘म स्वस्थ र लक्षण मुक्त महसुस गर्दैछु ।’ प्रमुख कार्यकारी अधिकृतले अहिलेसम्म नयाँ द्विभ्यालेन्ट बुस्टर लिएका छैनन् ।

 

सम्बन्धित खबरहरु