स्वामी अवधेशानन्द गिरी । शरीर जीवनको ठूलो साधन हो, तर शरीर मात्र जीवन होइन । जीवन आफ्नो मृत्युले मर्दैन । तिम्रो अस्तित्व शरीरको निन्दा–स्तुति–अपमानबाट सधैं अलग रहन्छ । यो जान्नु नै अध्यात्म हो ।

मृत्यु भनेको भौतिक शरीरबाट आत्मालाई अलग गर्नु हो । मृत्यु नयाँ र उच्च जीवनको लागि सुरुवाती बिन्दु बन्छ । यसले जीवनको सर्वोच्च ढोका खोल्छ । यो सम्पूर्ण जीवनको एकमात्र प्रवेशद्वार हो । जन्म र मृत्यु भ्रम हो । जन्मपछि नै मृत्यु सुरु हुन्छ, जीवन मृत्युबाट सुरु हुन्छ । यो चक्र जस्तै चलिरहन्छ ।

जन्म र मृत्यु यो संसारको रंगमञ्चमा प्रवेश र निस्कने द्वार मात्र हो । हाम्रो शास्त्रले भन्छ, वास्तवमा कोही आउँदैन, कोही जाँदैन । ब्रह्मा र अनन्त मात्र छन्।

जसरी तिमी एक घरबाट अर्को घरमा प्रवेश गर्छौ, त्यसरी नै आत्मा अनुभव लिनको लागि एक शरीरबाट अर्को शरीरमा प्रवेश गर्छ । जसरी पुरानोलाई छोडेर नयाँ वस्त्र धारण गरिन्छ, त्यसैगरी आत्माले पुरानो शरीर छोडेर नयाँ शरीर धारण गर्छ । मृत्यु जीवनको अन्त्य होइन ।

जीवन एक कहिल्यै अन्त्य नहुने प्रक्रिया हो । यो निरन्तर चलिरहन्छ । मृत्यु एक आवश्यक घटना हो, जुन भविष्यमा अगाडि बढ्नको लागि प्रत्येक आत्माले अनुभव गर्नुपर्छ । जसले यो कुरा बुझ्छ, उसलाई मृत्युसँग डर लाग्दैन् ।

मृत्यु भौतिक शरीरको मात्र हो । जुन पाँच तत्व मिलेर बनेको हुन्छ । समय, स्थान र कर्मभन्दा परको अनन्त आत्मालाई मृत्युले कसरी मार्न सक्छ । जन्म–मृत्युको चक्रबाट मुक्त हुन चाहनुहुन्छ भने देहहीन (शरीरविहीन) हुनुपर्छ । शरीर हाम्रो कर्मको फल हो । नतिजाको आशा नगरी आफ्नो कुनै पनि काम गर्नुहोस् । यदि तपाईंले आफूलाई आसक्ति, घृणा वा मन पर्ने र नपर्नेबाट मुक्त गर्नुभयो भने आफैंलाई कर्मबाट पनि मुक्त गर्नुहुनेछ । जब अविनाशी ज्ञानद्वारा अज्ञान मेटाउन सकिन्छ, तब अहंकारलाई पनि नष्ट गर्न सकिन्छ ।

जसले सबै ध्वनि, दृश्य, स्वाद र स्पर्शभन्दा परको अमर आत्मा, जो निराकार र निर्गुण छ, जो प्रकृतिभन्दा पर छ, जो पञ्च तत्वभन्दा पर छ, जो अनन्त र अपरिवर्तनीय छ भन्ने कुरालाई बुझेको छ, उसले आफूलाई मृत्युको मुखबाट सधैंका लागि मुक्त गर्छ ।

यदि शरीरमा आत्मा छैन भने त्यो शरीर मृत शरीर हो, त्यसलाई प्राकृतिक मृत्यु भनिन्छ । मृत्यु जीवनको अन्त्य होइन । मृत्यु संसारलाई जित्ने प्रक्रिया हो, जुन चलिरहन्छ । यो अनन्ततामा विलय नहुँदासम्म चलिरहन्छ ।

ध्यानमा राख्नु पर्ने मुख्य कुरा के हो भने सबै चीजहरूको स्वामी परमात्मा हुनुहुन्छ । उहाँ सबै कर्मको परम स्वामी हुनुहुन्छ, सबै कुरामा व्याप्त हुनुहुन्छ । उहाँ सर्वत्र, प्रत्येक कणमा व्याप्त हुनुहुन्छ । उहाँ प्रकट संसारको रूपमा मानव अनुभव र धारणाको दायरामा केही हदसम्म आउने विश्वार गरिन्छ । प्रस्तुति : सुभाषचन्द्र शर्मा

 

सम्बन्धित खबरहरु