काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतले यसको पुष्टि गरेको छ । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएकोबारे खोजी गर्छन् ।

एक प्रहरी अधिकारीका अनुसार आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्नुपर्छ । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएपछि लामिछाने नेपाल आएका छैनन् ।

आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप स्वदेश फर्किने बताउँदै आए पनि आएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लागेको छैन् ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईले सन्दीपको खोजी गर्ने सबै प्रक्रिया अपनाएको जानकारी गराउनुभयो । हालै लामिछानेले आफू मानसिक तनावमा रहेको भन्दै एकान्तवास गएको बताएका थिए ।

सम्बन्धित खबरहरु