काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी (विप्लव)को नेवाः राज्य समन्वय समितिले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त आफू ठूलो भ्रष्टाचारी भएको भन्दै कार्वाहीका लागी माग गरेको छ ।
राजधानीको विशालनगरबाट जुलुससहित अख्तियारमा ज्ञापनपत्र बुझाउन गएका नेवाः राज्य समन्वय समितिका प्रतिनिधिहरुले प्रमुख आयुक्तलाई भेट्न नपाएपछि ढोकामै ज्ञापनपत्र दर्ता गराएर फर्केका थिए ।
ज्ञापनपत्र दर्ता गरेपछि संचारकर्मीहरुसँग बोल्दै नेवाः राज्य समन्वय समितिका संयोजक असारे काकाले प्रमुख आयुक्त आफैं सबैभन्दा ठूला भ्रष्टाचारी भएको आरोप लगाए ।
ज्ञापनपत्रमा करोडौं भ्रष्टाचार गर्ने नेपालका केही राजनीतिक दलका नेता, उच्च ओहदाका सरकारी कर्मचारी, उद्योगी, व्यवसायी र व्यापारीलाई कार्वाही नगरी अख्तियारले न्यून रकम भ्रष्टाचार गर्ने तल्लो स्तरका शिक्षक, कर्मचारीलाई मात्र खोजीखोजी कार्वाही गरेको आरोप लगाइएको छ ।
साथै ज्ञापनपत्रमा वास्तविक भ्रष्टाचारीलाई तुरुन्तै कार्वाही गर्न माग गर्दै आयोगले कार्वाही नगरे भ्रष्टाचारका विरुद्ध आफ्नो पार्टी सशक्त आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ ।