काठमाडौं । साउदी अरबका राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले आफ्ना दोस्रो छोरा राजकुमार खालिद बिन सलमानलाई रक्षामन्त्री बनाएका छन् ।

उनी यसअघि उपरक्षामन्त्री थिए । अर्का छोरा राजकुमार अब्दुलाजिज बिन सलमानलाई ऊर्जा मन्त्री नियुक्त गरिएको छ ।

साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सी एसपीएले मंगलबार एक शाही आदेश जारी गर्दै राजा सलमानले गरेको यो घोषणाबारे जानकारी गराएको हो ।

यो आदेश अनुसार विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद, वत्तमन्त्री मोहम्मद अल–जदान र लगानी मन्त्री खालिद अल–फलिह आफ्नो पुरानो पदमा कायम रहेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार साउदीका एक अधिकारीले युवराजको नयाँ जिम्मेवारी पहिले उनलाई दिइएको जिम्मेवारी जस्तै रहेको बताए । यो नयाँ पदमा उनले विदेश भ्रमणमा देशको प्रतिनिधित्व गर्ने र स्वदेशमा आयोजना हुने सम्मेलनको अध्यक्षता गर्नेछन् ।

सम्बन्धित खबरहरु