काठमाडौं ।  डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी हुनुहुन्थ्यो ।

उहाँहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्नुहुन्थ्यो । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ । उहाँहरुको उपस्थितिले मात्र पनि निर्माताले मुनाफा आर्जन गर्न थालेपछि चलचित्रमा नयाँपुस्ताको उपस्थिति बढिरहेको छ । अनमोल केसी, प्रदीप खड्का, धीरज मगरलगायत सर्वाधिक खोजिने अभिनेता बनेसँगै नयाँपुस्ताले चलचित्रमा काम गर्ने इच्छा देखाएको पाइन्छ ।

व्यावसायिक रेकर्ड राख्न सफल फिल्म ‘कबड्डी ४ ः द फाइनल म्याच’ मार्फत गौमाया गुरुङले डेब्यु गर्नुभयो । बेलायतमा बसोबास गर्ने अभिनेत्री गुरुङले कलाकारितामा आफ्नो भविष्य देखेर नै नेपाल आएर अभिनय गर्नुभएको हो । उहाँले अभिनय गरेको ‘गोर्खा ः विनिथ द ब्रेभरी’ समेत प्रदर्शन भइसकेकोछ । युट्युब र सामाजिक सञ्जालमा ट्राभल ब्लग बनाउने गुरुङ नोटिस भएपछि डेब्युको अवसर पाउनुभएको हो ।

उहाँ भन्नुहुन्छ, “नेपाली भाषा र संस्कृतिमा काम गर्दा आनन्द आउँछ । म नेपाली चलचित्रमै आफ्नो भविष्य देख्छु । अवसर आएसम्म सदुपयोग गर्नेछु ।”

भारतमा मोडलिङ गरिरहनुभएकी श्रद्धा क्षेत्रीले ‘कृष्ण लीला’ मार्फत डेब्यु गर्नुभयो । यस अगाडि ‘हृदय भरी’ नामक चलचित्रमा काम गरे पनि निर्माण पूरा नभएपछि उहाँले दोस्रो अवसर पाउनुभएको थियो । क्षेत्री भन्नुहुन्छ, “नेपाली चलचित्रमा काम गर्ने रहर थियो । यहाँ दर्शकमार्फत पाइने माया भिन्नै छ ।”

रङ्गमञ्चमा काम गरिरहनुभएकी रेणु योगीले ‘प्रकाश’ मार्फत डेब्यु गर्नुभयो । जुम्ली युवतीको भूमिकामा दर्शकले उहाँलाई स्वीकार्नुभयो । “रङ्गमञ्चमा काम गरेपछि अडिसन दिएर चलचित्रमा अभिनय गरेकी हुँ । ठुलोपर्दाले मलाई थप अनुभव दिएको छ”, उहाँले भन्नुभयो ।

यसैगरी ‘सम्हालिन्छ कहिले मन’ मार्फत सोनाम तोप्देन गायकबाट अभिनेता बन्नुभयो । कभर गीतमार्फत गायक बन्नुभएका तोप्देनले डेब्यु चलचित्रबाटै तारिफ पाउनुभयो । उहाँ चलचित्र आफ्नो लागि नौलो अनुभव रहेको उल्लेख गर्दै गायन र अभिनयसँगै अगाडि बढाउने योजनामा हुनुहुन्छ ।

‘प्रेम गीत ३’ मार्फत अभिनेत्री क्रिस्टिना गुरुङले डेब्यु गर्नुभयो । उहाँ अडिसनमार्फत छानिनु भएको हो । दसैँमा प्रदर्शन हुने चलचित्र ‘बाबरी’ बाट प्रसिद्ध कलाकार तृप्ति नाडकरका छोरा धीरजले डेब्यु गर्दै हुनुहुन्छ । भारतमै रहेर केही टेलिशृङ्खलामा समेत काम गरिसक्नुभएका धीरज नेपाली दर्शकमार्फत पाइरहेको मायाले उत्साहित हुनुहुन्छ ।

“मैले नेपालमा पाएको माया अद्भुत छ । मेरो आमाझैँ मलाई पनि स्वीकार्नु हुन्छ भन्नेमा विश्वस्त छु । मैले इमान्दार भएर काम गरेको छु”, उहाँले भन्नुभयो । ‘दुई नम्बरी’ चलचित्र मार्फत भुटानी अभिनेत्री उगेन छोदेनले डेब्यु गर्दै हुनहुन्छ । “नेपाली कलाकारको सहयोगले डेब्यु राम्रो भयो । म आउँदो दिनमा पनि चलचित्रमा अभिनय गर्नेछु”, उहाँले भन्नुभयो ।

तिहारमा प्रदर्शन हुन लागेको ‘महापुरुष’ चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दै हुनुहुन्छ । दुवै जनाले अडिसन दिएर छानिनुभएको हो । अरुणले ‘आइएम ट्वान्टी वान’ चलचित्रमा अभिनय गरिसक्नुभएको छ भने अञ्जना मोडलिङ गरिरहनुभएको छ ।

‘परदेशी २’ बाट गायक प्रकाश सपुत, ‘लन्डन टु पेरिस’बाट गरिमा शर्मा र निश्चल खड्का, ‘वर एण्ड वधु’ बाट विवेक कर्माचार्यलगायतले चलचित्रमा डेब्यु गर्दै हुनुहुन्छ । मेकिङ शैलीमा परिवर्तन आएसँगै हलमा नयाँपुस्ता दर्शक बनेर बढेझैँ चलचित्रमा पनि आकर्षण देखिन्छ । उनीहरु सम्बन्धित विधाको अध्ययन गरेर नै काम गरिरहेका छन् । उहाँहरुको उपस्थिति सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्यन गरेर आउनुले चलचित्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ । उहाँहरुको सक्रियतामा अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ ।” रासस

 

 

सम्बन्धित खबरहरु