काठमाडौं, १९ माघ । कडा आन्दोलन भनेको कस्तो हो ? बम हान्ने होकि ? बन्दुक पडकाउनुपर्ने कि ? संविधानसभा भित्रै संघर्ष गर्ने हो ?

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आइतवार ८ दल आवद्ध मधेशी मोर्चा बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति इंगित गर्दै असहमति राखेका थिए । त्यतिबेला यादव भने काम छ भन्दै बैठकबाट निस्किसकेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।

आन्दोलनबारे साझा धारणा बनाउन बसेको बैठकमा यादव संविधानसभामा सत्तापक्षले दुई तिहाईबाट संविधान जारी गर्न लागेकाले मधेशमा कडा आन्दोलन गर्नुपर्ने भन्दै उठेर हिंडेका थिए । आइतवार बिहानै ८ मधेशीसहित ३० दलको मोर्चा बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चा आवद्ध सभासदहरुले संविधानसभा छाड्नुपर्ने अवस्था आउन सक्ने धारणा समेत राखेका थिए । त्यही लाइनमा यादवको धारणा पनि आएपछि दलहरुबीच विमति सुरु भएको हो ।

गच्छदारको जवाफ उद्धृत गर्दै एक सहभागीले भने- ‘उपेन्द्रजी बैठकमै बसिदिनु भएको भए राम्रो हुन्थ्यो । कडा आन्दोलन भन्दैमा बम पडाउन सकिन्न । गोली चलाउन सकिन्न । संविधानसभा छोडेर जान पनि सकिन्न ।’

मधेसकेन्द्रित दलहरु एमाओवादीले संविधानसभा छाड्न पनि तयार हुनुपर्ने भनी राखेको प्रस्ताव प्रति सशंकित बनेका हुन् । तर, संविधानसभाबाट राजिनामा दिने या बहिस्कार गर्ने बाहेक विरोधका अन्य स्वरुपमा भने एक भएर अघि बढ्ने निर्णय समेत मधेशी मोर्चाले गरेका छन् ।

दाहालले बिहान मोर्चा बैठकमा राखेको उक्त संविधानसभा छाड्नुपर्ने प्रस्तावलाई अधिकांस मधेशी दलहरुले अस्वीकार गरेका थिए । दिउसो मधेशी दलहरु मात्र आवद्ध ८ दलको मोर्चामा समेत त्यसको विरोध भएको थियो ।

सम्बन्धित खबरहरु