काठमाडौं, १९ माघ । संविधानसभाको प्रश्नावली प्रस्ताव निर्माण समितिले सहमति हुन नसकेका विषयमा प्रश्नावली मस्यौदा बनाएर पेश गर्न सोमवार उपसमिति गठन गरेको छ ।
एमालेका प्रमुख सचेतक अग्नि खरेलको संयोजकत्वमा गठित ९ सदस्यीय प्रस्ताव मस्यौदा उपसमिति गठन गरेको हो । उपसमितिले मंगलवार प्रश्नहरुको मस्यौदा बनाएर पेश गर्नेछ । उपसमितिमा कांग्रेसका रमेश लेखक, राधेश्याम अधिकारी, एमालेका श्रीमाया थकाली र कृष्णभक्त पोखरेल सदस्य छन् । त्यस्तै नेकपा मालेका सीपी मैनाली, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सभासद अतहर कमाल मुसलमान पनि उपसमितिमा सदस्य छन् ।
मंगलवार अपरान्ह ३ बजे प्रस्ताव समितिको बैठकमा खरेल संयोजकत्वको उपसमितिले प्रश्नावलीको मस्यौदा पेश गर्नेछ । गणतन्त्र, धर्म निरपेक्ष र संघीयताको असहमतिका विषयमा प्रश्नावली नबनाउने निर्णय भइसकेकाले अब बाँकी विवादित विषयमा मात्र प्रश्न बन्नेछ ।
प्रश्नावली प्रस्ताव समितिले निर्धारित ५ दिनभित्र काम नसकेमा समय थप्न सकिने संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बताएका छन् । यहि अवधिमा दलहरुलाई सहमतिका लागि पर्याप्त अवसर रहेको उनले बताए ।