काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले चाडपर्वको समयमा डेङ्गुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो । “प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वस्वास्थ्यमन्त्री थापाले सरकारसँग देशभरको डेङ्गु सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गर्नुभयो । सरकार महामारीको बेलामा अरु कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने उहाँको भनाइ थियो ।

महामन्त्री थापाले पार्टीभित्र सही ढङ्गले न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आएको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । उहाँले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टी निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको बताउनुभयो ।

पार्टीभित्रका नेताले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढङ्गले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको सङ्घर्षको आवश्यताको बोध हुन थालेको बताउनुभयो । उहाँले देशको वर्तमान मुद्दा नेपालका युवाले स्वदेशमा नै रोजगारी पाउने कुरा हुनुपर्ने बताउनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु