काठमाडौं । काठमाडौंमा काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहको पुत्ला दहन हुन थालेको छ । बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ पुत्ला दहन सहित प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । स्थानीय वासिन्दाले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् । स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुग्नुभएको थियो । उहाँले काठमाडौं महानगरपालिकाले कानून विपरीत काम गरिरहेको आरोप लगाउनुभयो।

‘अतिक्रमण गरेको छ भने मार्किङ गर्नुपर्छ, यहाँको मान्छेको समर्थन लिएर काम गर्नुपर्छ’ उहाँले मेयर बालेनप्रति लक्षित गर्दै भन्नुभयो, ‘उहाँको सोच बदलिनुपर्छ । डोजरले घर भत्काएर समाधान हुदैन ।’

स्थानीयले मसाल जुलुस निकाल्नुका साथै मेयर बालेन साहको पुत्ला पनि दहन गरेपछि समुदाय पक्ष विपक्षमा विभाजित भएको छ ।

 

सम्बन्धित खबरहरु