काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो । गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडादरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ ।

गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ । पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी गाउँपालिकादेखि पाल्पा हुँदै बुटवलसम्म रु छ हजार ५०० र पाणिनी गाउँपालिकादेखि बुटवलसम्म रु पाँच हजार ५०० भाडा तोकिएको छ । अन्य स्थानको हकमा कच्ची बाटोमा प्रतिकिलोमिटर रु ८० र पक्की बाटोमा प्रतिकिलोमिटर रु ४० भाडा तोकिएको पालिकाले जनाएको छ । रासस

सम्बन्धित खबरहरु