काबुल । अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाब वृद्धि भएपछि तालिबानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ ।

तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको छ । यो आदेश तालिबानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एशोसिएशनलाई जानकारी गराएको थियो ।

यस आदेश अनुसार, स्थानान्तरण, व्यापार र मुद्रा विनिमय सहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ ।

प्रतिवेदनमा मुद्रा सटही डिलरलाई पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ ।

तोकिएको रकमभन्दा बढी रकम फेला परेमा डिलरलाई कानुनी कारबाही हुन सक्छ ।

गत वर्षको अगष्टमा तालिवानले सत्ता कब्जा गरेयता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ, जसमा बढ्दो सीमा सङ्घर्ष र पाकिस्तानमा प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) को पुनः उदय पनि समावेश छ ।

हालै तालिबानले पाकिस्तानले भूपरिवेष्टित देशमा आफ्नो हवाई क्षेत्र अमेरिकी ड्रोनले प्रयोग गर्न अनुमति दिएको आरोप लगाएको थियो । अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणका लागि अनुमति दिएबापत पाकिस्तानले ठूलो रकम प्राप्त गरेको तालिबान समूहले दाबी गरेको छ ।

जुलाई ३१ मा, संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा एक सटीक प्रतिआतंकवाद आक्रमण गरेको थियो जसमा ओसामा बिन लादेनका सहायक र अल–कायदाका नेताको उत्तराधिकारी अयमान अल–जवाहिरीको मृत्यु भएको थियो ।

यसैबीच, पाकिस्तानले टीटीपीले आक्रमण पुनः सुरु गर्नुमा तालिवान शासनलाई दोषी ठह¥याएको छ जसले देशको सुरक्षा स्थितिलाई अझ खराब बनाएको छ । पाकिस्तानमा यो वर्ष एकै महिनामा सबैभन्दा धेरै आतङ्कवादी घटना सेप्टेम्बरमा भएको सञ्चारमाध्यमले जनाएका छन् । (रासस/एएनआई)

सम्बन्धित खबरहरु