दमौली । विजयादशमीको नवौँ दिन नवमीको अवसरमा तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । शुक्लागण्डकी नगरपालिका–९ स्थित प्रसिद्ध ढोरबाराही मन्दिरमा पूजाआजाका लागि आज बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

मन्दिरमा पूजाआजाका लागि तनहुँका अतिरिक्त छिमेकी जिल्लाबाट पनि भक्तजन आएको स्थानीय मनोज बानियाँले जानकारी दिनुभयो । “मन्दिरमा भक्तजनको लाइन लामो छ, घन्टौँ लाइनमा बसेर भक्तजनले पूजाआजा गरेका छन्,” उहाँले भन्नुभयो । मनोकाङ्क्षा पूरा हुने विश्वासकासाथ ढोरबाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् ।

मन्दिरमा तनहुँसँगै कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवनलगायत जिल्लाबाट भक्तजन आउने गरेका छन् । जङ्गलले चारैतिर घेरिएको पहाडकोबीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीका माछाले भक्तजनको मन रमाउँछ । ढोरबाराहीस्थित पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्यमी लहरीलाई धार्मिक आस्थाको रुपमा लिइन्छ । ढोरबाराही मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ ।

हिमवत्खण्ड पुराणमासमेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चर्तुवाहुमूर्ति समेत पाइन्छ । मन्दिरमा १९०४ सालदेखि चढाइएका घण्टसमेत छन् । ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किँवदन्ती छ । मन्दिरका पुजारी लम्सालका अनुसार पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकैछिनमा स्वतः घट्दै जान्छ ।

पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेष गरि लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा शौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ ।

मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टमध्ये एउटामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको पाइएको छ । यसैको आधारमा पनि मन्दिरले धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रमाणित हुन्छ । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महीनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजा अर्चनाका लागि दर्शनार्थी आउने गर्छन् । एकादशी, औँशी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुवली दिइँदैन ।

नवमीको दिन आज प्रसिद्ध धार्मिकस्थल व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । मन्दिरमा पूजाआजा गरेर मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर थापाले बताउनुभयो ।

यसका अतिरिक्त व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका, म्याग्दे गाउँपालिका–५ स्थित अकलादेवी मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । (रासस)

सम्बन्धित खबरहरु