काठमाडौँ । हनुमानढोका दरबारस्थित मूल चोकमा आज बिहान ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गरिएको छ । यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ । मूर्ति राखिएको स्थलमा सोमबार राति पनि ५४ बोका र ५४ राँगाको बलि दिएर राज्यका तर्फबाट कालरात्रि पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

तलेजु भवानीको मूर्तिलाई मूलचोकमा राखिए पनि मन्दिरमा भने अहिले पनि भक्तजनले दर्शन गरिरहेका छन् । यो मन्दिर प्रत्येक वर्ष बडादसैँको महानवमीका दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । यहाँ भक्तजनले कलशको दर्शन गरेर फर्कने पनि उहाँले बताउनुभयो ।

मन्दिर भक्तजनका लागि आज बिहान ४ः३० बजे खुला गरिएको थियो । भक्तजन भने त्यसअघिदेखि नै लाममा बसेको कार्यालयले जनाएको छ । आज भारी वर्षा भए पनि भक्तजन भने अझै लाममा बसेका छन् । मूर्तिलाई भने बुधबार विजयादशमीका दिनमात्र मन्दिरमा फर्काइने भएको छ ।

सुदूरपश्चिममा ‘सात्विक’ दसैँ मनाइँदै
बडादसैँलाई खानपिनको पर्वका रूपमा चिनिन्छ । देशका विभिन्न ठाउँमा दसैँमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्विक हिसाबले दसैँ मनाइने गरिन्छ । सुदूरपश्चिममा पुस्तौँदेखि सात्विक दसैँ मनाइँदै आएको हो ।

मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्विक हिसाबले मनाउने चलन छ ।

दसैँको घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजयादशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “परापूर्वकालदेखि नै यो क्षेत्रमा दसैँको बेला चोखो भोको रहने चलन छ । घटस्थापनादेखि नवरात्र उपासना गर्ने चलन छ । यो समयमा नवरात्र उपासना गर्नेहरुले शुद्ध शाकाहारी भोजन मात्रै खाने गर्दछन् ।”

दसैँको समयमा खानपिन गरेर रमाइलो गर्ने चलन रहेको भए पनि यो क्षेत्रमा सात्विक हिसाबले दसैँ मनाउने चलन रहेको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताउनुभयो । दसैँका बेला देवीदेवताका मन्दिरमा पूजापाठ हुने भएकाले सादगी हिसाबले दसैँ मनाउने गरिएको छ । दसैँ शक्तिको पर्व भएकाले शक्तिको उपासना गरेर दसैँ मनाउने गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “दसैँमा शक्तिको पूजा हुन्छ । शक्ति प्राप्तिका लागि साधना आवश्यक छ । त्यसैले यो क्षेत्रमा दसैँका बेला चोखो भोको रहेर नवरात्र उपासन गर्ने चलन छ ।”

सुदूरपश्चिममा दसैँका बेला खानपिनभन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ । यो क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्विक हिसाबले पूजन हुन्छ ।

पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन सुरु गरेका श्रद्धालुहरूले नवरात्रको दश दिनसम्म एकछाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् । विजयादशमीको टीका ग्रहण गरेपछि मात्रै खाना खाने चलन रहेको पण्डित भट्टले बताउनुभयो । “दसैँका बेला मीठोमसिनो खाने, मासु खाने चलन देशका अन्य ठाउँमा छ तर यहाँका विभिन्न शक्तिपीठमा दसैँको दिन पूजाआजा हुने भएकाले सो दिन श्रद्धालुहरु व्रत बस्ने गर्छन्”, उहाँले भन्नुभयो ।

शक्तिपीठमा सामूहिकरूपमा जमरा

देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रहिआएको भए पनि बैतडीसहित सुदूरपश्चिममा सामूहिकरूपमा मन्दिरहरूमा जमरा राख्ने चलन रहिआएको निङ्गलाशैनी मन्दिरका पुजारी भट्टले बताउनुभयो । मन्दिरमा सामूहिकरूपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि सुरु भएको र यसले सामाजिक सद्भावको विकासमा सहयोग पु¥याएको विश्वास गरिन्छ ।

जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरहरूमा सामूहिकरूपमा जमरा राखिएको छ । यस्तै महारुद्र, उदयदेव, सिगास, दोगडा, केदारलगायतका मन्दिरहरुमा पनि सामूहिकरूपमा जमरा राखिएको छ ।

दसैँ सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिकरूपमा मन्दिरमा जमरा राख्ने चलन रहिआएको दशरथचन्द नगरपालिका–२ का स्थानीयवासी रमेश बोहराले बताउनुभयोे । देवीदेवताका मन्दिरमा जमरा राखेर सामूहिकरूपमै पूजाआजा गर्ने चलन रहिआएको बोहराले जानकारी दिनुभयो । घटस्थापनाका दिन राखिएको जमरालाई धेरैजसो ठाउँमा अष्टमीका दिन काट्ने चलन छ । जमरा राखिएका मन्दिरमा रातमा समेत जाग्राम बसेर पूजाआजा गरिन्छ । जमरा देवीको प्रसादका रूपमा विजयादशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

दसैँको अवसरमा नवरात्रि उपासना गरेर पूजाआजा हुन्छ । दसैँका बेला शक्तिपीठहरूमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । दसैँको समयमा सामूहिकरूपमा पूजापाठ गरिने भएकाले घरबाहिर भएका, बसाइँसराइ गरेर गएकाहरू पनि फर्कने गरेका छन् ।

शक्तिपीठमा दर्शनार्थीको घुइँचो

दसैँ सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका देवी तथा अन्य देवताका मन्दिरहरूमा पूजाआजा गर्नेको घुइँचो लागेको छ ।

नवरात्र सुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा पूजाआजा सुरु भएको हो । धेरैजसो नागरिकले नवरात्रिको १० दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्छन् ।

सुदूरपश्चिममा दसैँलाई गौरा पर्वसँगै जोडेर हेर्नुपर्ने र भदौ महिनामा गौरीका पूजा गरेजस्तै अश्विन शुक्ल पक्षमा पनि सात्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको छ । पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन सुरु गरेका श्रद्धालुहरुले नवरात्रको दस दिनसम्म एक छाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् ।

स्थानीय उत्पादनको व्यापार बढ्यो

बैतडीका विभिन्न स्थानमा दसैँको अवसरमा लागेको मेलामा स्थानीय उत्पादनको व्यापार बढेको पाइएको छ । स्थानीयस्तरमा उत्पादन हुने फलफूलमा ओखर, केरा, अम्बा, दारिमलगायत फलफूलहरुको व्यापार बढेको स्थानीय व्यापारीहरुले बताएका छन् । यसका साथै निगालोबाट बनेका डोको, नाङ्लोलगायत सामग्रीको व्यापार बढेको व्यापारी दिनेश विष्टको भनाइ छ ।

निङ्गलाशैनी मन्दिरको मेलामा स्थानीय बासिन्दाले स्थानीयस्तरमा उत्पादित सामानहरुको बिक्री गर्ने गर्दछन् । मेलाका अवसरमा स्थानीयस्तरमा उत्पादित सामग्रीको व्यापारले स्थानीय बासिन्दाको आर्थिक अवस्थामा समेत परिवर्तन आउने बताइएको छ । स्थानीय उत्पादनले यस्तै मेलाका बेला बजार पाउने गरेको किसानहरुले बताएका छन् । (रासस)

सम्बन्धित खबरहरु