prachandaकाठमाडौं, १९ माघ । एमाओवादी नेतृत्वको मोर्चाबाट बैद्य नेतृत्वको माओवादी बाहिरिएपछि अध्यक्ष प्रचण्डले जेपी गुप्ता र मातृका यादवसँग वार्ता थालेका   छन् । आज भएको भेटमा एमाओवादी अध्यक्ष प्रचण्डले गुप्ता र यादवलाई सडक आन्दोलनमा सहकार्यको प्रस्ताव गरेका हुन् ।

मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले छाडेपछि ३० दलीय मोर्चाका संयोजक समेत रहेका प्रचण्डले आज विहान मधेस संयुक्त राष्ट्रिय आन्दोलन समितिमा मातृका यादव, गोपाल ठाकुर तथा तराई मधेस राष्ट्रिय अभियानका जेपी गुप्तासँग छलफल गरेका हुन् ।

भेटमा प्रचण्डले सडक आन्दोलनमा सहकार्यको प्रस्ताव राखेको नेताहरुले बताए । बैद्य माओवादीले संविधानसभा छाडेर आउन भनेका कारण संयुक्त जनआन्दोलन समितिलाई निरन्तरता दिन नसकेको समेत प्रचण्डले प्रष्ट पारे ।माघ ८ अघि ३० दल, बैद्य माओवादी, पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय अभियान लगायत मिलेर संयुक्त जनआन्दोलन समिति बनेको थियो । तर, माघ ८ पछि बैद्य माओवादी अलग भएको थियो ।

प्रचण्डको प्रस्तावबारे तराई मधेस राष्ट्रिय अभियानका संयोजक गुप्ताले सडक संघर्षलाई प्रधान बनाउने हो भने आफुहरु सहकार्य गर्न तयार भएको जावफ दिएको बताए । उनले भने, ‘संविधानसभाको औचित्य त समाप्त भइसकेको छ तर संविधानसभा छाड्ने नछाड्ने उनीहरुको कुरा हो । सडक संघर्षलाई प्रधान बनाउने हो भने सहकार्य गर्न तयार छौं ।’

सम्बन्धित खबरहरु