नयाँ दिल्ली । भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।

“फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब आठ जनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउले बनेको चिरूवाभित्र फसेका छन्,” राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवालले एएफपीसँग भन्नुभयो ।

“हिउँ परिरहेको थियो तर अहिले मौसममा सुधार आएको छ र हामीले वायु सेना र अन्य एजेन्सीहरूको सहयोगमा उद्धार अभियान सुरु गरिसकेका छौं । जबसम्म मौसमले साथ दिन्छ र फसेकाहरू सुरक्षित हुँदैनन् तबसम्म उद्धार जारी रहनेछ ।

उक्त समूह स्थानीय पर्वतारोहण संस्थाका प्रशिक्षार्थीहरू थिए ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उत्तरकाशीस्थित नेहरु पर्वतारोहण संस्थानले गरेको पर्वतारोहण अभियानका क्रममा गएको पहिरोका कारण भएको अमूल्य जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

गत अगष्टमा हिमाञ्चल प्रदेश राज्यमा हिमनदी तर्ने क्रममा हिउँको चिराभित्र खसेका एक पर्वतारोहीको शव दुई महिनापछि फेला परेको थियो । (रासस/सिन्ह्वा)

सम्बन्धित खबरहरु