काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिनुभएको छ ।

इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् । उहाँले सर्वसाधारणलाई विजयादशमीको टीका र जमराका साथै आशीर्वाद प्रदान गर्नुभयो ।

धितुङका अग्निपीडित सार्की परिवारलाई विभिन्न निकायको राहत
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित नमूना भञ्ज्याङका अग्निपीडित दुई घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । सोमबार दिउँसो लागेको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि विचल्लीमा परेका स्थानीय राजन सार्की र उनका छोरा सन्तोष सार्कीको परिवारलाई विभिन्न निकायबाट सङ्कलित राहत मङ्गलबार उपलब्ध गराइएको हो ।

अग्निीपीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय खोटाङले नगद रु १५ हजार, खोटाङ उद्योग वाणिज्य सङ्घ र खोटाङ यातायात प्रालिले रु दश÷दश हजार नगद तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले दुई थान त्रिपाल, आठवटा कम्बल, दुईवटा बाल्टिन, दुई परिकारका लागि आवश्यक भाँडावर्तन, चार थान साडी तथा पाइन्ट र कुर्तासुरुवालको कपडा प्रदान गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख बिमला राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं र रेडक्रसका जिल्ला सभापति ज्ञानेन्द्र जोशीले घटनास्थल पुगेर संयुक्तरूपमा राहत वितरण गर्नुभएको हो ।

अग्निपीडित परिवारका लागि राहत वितरण गर्न जिल्ला प्रशासन र रेडक्रसको टोली घटनास्थलमै पुगेको थियो भने, खोटाङ यातायात प्रालिले प्रमुख जिल्ला अधिकारीमार्फत र उद्योग वाणिज्य सङ्घले रेडक्रसमार्फत राहत रकम पठाएका थिए । राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक श्याम रावत, वडाध्यक्ष टेकराज राईलगायतको उपस्थिति रहेको थियो ।

अग्निपीडित दुवै परिवारलाई जस्तापाताको व्यवस्थापन नगरपालिकाले गरिदिने र आवास निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने नगरप्रमुख राईले आश्वासन दिनुभएको छ । अग्नीपीडित परिवारलाई वडाले तत्कालै महिनादिन पुग्ने खाद्यान्न र भाँडाकुँडाको व्यवस्थापन गरे पनि बासबस्ने ठाउँ अभाव भएपछि आफन्तको घरमा राखिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

बुबाछोराको घर नजिकै रहेको गोठबाट सुरु भएको आगोले दुई घर र गोठसहित दुईवटा पशुचौपाया जलेर नष्ट भएको थियो । आगलागीमा एक तोला सुन, ६० केजी चामल, ७५ हजार बराबरको भाँडावर्तन, ५० हजार बराबरको लत्ताकपडा, एक मुरी मकै, तीन मुरी कोदो, दश हजार बराबरको एक थान सोलार प्यानल, एउटा गाई र एउटा सुँगुर जलेर नष्ट हुँदा रु ११ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

नमूना भञ्ज्याङमा भएको आगलागी दसैँ मान्न घर आएका युवाले तत्कालै नियन्त्रणमा लिएका कारण छिमेकी गाउँमा थप क्षति हुन नपाएको स्थानीयवासी गणेश कार्कीले जानकारी दिनुभयो । वर्षदिनमा एक पटक आउने हिन्दू नेपालीको महान् चाड दसैँ, तिहार तथा छठ पर्वको समयमा आलगागी हुँदा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि सार्की परिवार विचल्लीमा परेका छन् ।

सम्बन्धित खबरहरु