काठमाडौं, १९ माघ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संवैधानिक कानूनका विज्ञहरु सँग छलफल गरेका छन् । प्रधानमन्त्री कोइरालाले विज्ञहरु सँग सोमवार निवास वालुवाटारमा छलफल गरेका हुन ।
छलफलमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका प्रक्रियामा भएका संवैधानिक र कानुनी प्रावधानका बारेमा जिज्ञासा राखेको छलफलमा सहभागी प्रजातन्त्रवादी कानुन व्यवसायीको सङ्गठनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए । कानुनविज्ञहरुले जनताबाट निर्वाचित भएर आइसकेपछि कसैले पनि संविधानसभा छोड्न नमिल्ने धारणा राख्दै जनताको सार्वभौम अधिकार सम्पन्न संविधानसभाले गठन गरेको प्रश्नावली समिति संविधान निर्माण प्रक्रियाको सुरुवातमात्र भएकाले कसैले पनि आत्तिन नहुने बताएका थिए ।
दुई तिहाई बहुमतको निर्णयलाई कसैले घुक्र्याएर केही नहुने भन्दै संवैधानिक कानुनका विज्ञहरुले संविधानसभाले आफ्नो कार्य निरन्तर अघि बढाउनुपर्ने सल्लाह दिएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफूले शान्ति प्रक्रियाको मुख्य हिस्सा रहेको विपक्षी दलहरु संविधानसभा बाहिर नजाओस् भनेर सहमति र वार्ताका लागि अथक प्रयास गरिरहेको जानकारी गराउँदै सहमतिका आधारमा नै संविधान निर्माण गर्न प्रयासमा रहेको बताए । छलफलमा कानुुनविद्हरु डा विपिन कोइराला, डा भीमार्जुन आचार्य, शेरबहादुर केसी, गणेश भट्टलगायत उपस्थित थिए ।