डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयत दर्ता उहाँकी धर्मपत्नी आरजु देउवा राणाले गर्नुभएको छ । वारेसनामा लिएर पुग्नुभएकी राणाले उम्मेदवारी दर्ता गराएर विदेश जाने युवालाई फ्रि–भिसा, फ्रि–टिकट दिने व्यवस्था गर्ने बताउनुभयो ।

स्थानीय तहको चुनावमा पनि उहाँले आफ्नो पार्टीका उम्मेद्वारलाई चुनाव जिताए फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाउने लोभ देखाउनुभएको थियो । यही विषयमा उहाँलाई निर्वाचन आयोगले स्पष्टिकरण समेत सोधेको थियो ।

डडेलधुरामा आफ्नो पार्टी र आफूसम्बद्ध गैरसरकारी संस्था (एनजीओ) ले महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको बताउँदै उहाँले भन्नुभयो, ‘युवाको रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्रि–भिसा, टिकटमा पठायौं, यस्तो स्कीम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने काम गर्छौं ।’

प्रधानमन्त्री देउवाको मनोनयन दर्ता गराउँदै डडेल्धुरालाई पर्यटकीय क्षेत्र बनाउने र आधुनिक सहर बनाउने पनि उहाँले वाचा गर्नुभयो । आफ्नै क्षेत्रमा आफ्नो मनोनयन दर्ता गर्न देउवा भने पुग्नुभएन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत अधिकांश शीर्ष नेता आफै पुगेर मनोनयन दर्ता गराउँनुभयो ।

सम्बन्धित खबरहरु