काठमाडौं । नियालेर आफै हेर्नुहोस् ‘यो घर जनताको भए, उहिले नै भत्किन्थ्यो ।’ तर ढुक्क उभिइरहेको छ । किनकी ‘यो नेताको घर हो ।’ अझै भत्किने छैन, किनकी यो नेताको हो । यो घर काठमाडौंको मुख्य स्थल बबरमहल र बिजुलीबजारकोबिचमा छ । बबरमहलमा काठमाडौं जिल्लाका अधिकांश प्रशासकीय कार्यालय छन् ।’

त्यही नजिकै मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबार छ । उक्त क्षेत्रलाई विश्वले देख्दा आकर्षक देखियोस् भनेर ‘आर्क’ पुल निर्माण गरिएको छ । यो नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’ हो । यो पुल बनाउँन राज्यको १५ करोड माथी खर्च भएको छ ।

तर यही पुलसँग टाँसिएको छ एउटा कुरुप संरचना । यहाँ देख्न सक्नुहुन्छ यो घरलाई जोगाउँन पुलको संरचना नै घरमा आएपछि घटाइएको छ । घरभन्दा फुटपाथको रेलिङ पिल्लर भित्र छ । घर आइपुगेपछि रेलिङ नै काटेर घरलाई पुलतर्फ भित्र राखिएको छ । सडक पेटीको रेलिङ काटेर नीजि संरचना बनाउँन तपाई हामी सामान्य जनताले पाउँछौ ?’

पुलसँग यो घर पुरै टाँसिएको छ । पुलबाट नै माथी छतमा जान सकिन्छ । अनुमान लगाउन सकिन्छ सडक पेटीतर्फ पानी झर्नेगरी सानो छानो हालेर कपडा पसलेले कपडा झुण्डाएको संरचना डोजरले भत्काउँदै हिँडेको छ । तर यो नदेखेर नभत्काइएको भन्न सकिन्न ।’

यो भत्किएन । किनकी यो घर नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशमानसिंहको हो । अझ भनौँ न नेपाली कांग्रेसले पुज्ने संस्थापक नेता गणेशमान सिंहका पुत्रको हो । यही क्षेत्रमा पर्ने काठमाडौं क्षेत्र नं. १ का विजयी सांसद प्रकाशमानको घरमा डोजर लगाउँन न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सके नत अहिले चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले नै सके ।’

किनकी यो घर देशका पूर्व उपप्रधानमन्त्रीको हो । यसैले अह यो भत्किएन । भत्किनेपनि छैन । स्मरण गराऔँ । यो पुल नेपालमा नै पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट बनेको हो । यो पुल बनाउँने काम समेत यही घरका कारण तीन बर्ष ढिला भएको थियो । भत्काउँन नदिएपछि ठेकेदार कम्पनीले तीन बर्षसम्म राज्यको निर्णय पर्खिएर बस्यो ।’

पछि नभत्काई घरलाई जोगाएर बनाउँन थालियो । माइतीघरदेखि भक्तपुर सडक विस्तारको काममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई सम्झिने गरिन्छ । त्यो बेला उपत्यका विकास प्राधिकरण मार्फत माइतीघरदेखि भक्तपुरसम्म सरकारी मापदण्डभित्रका संरचना भत्काइएको थियो । ६ लेनको सडक बनाएरपनि दुबै तर्फ दुई–दुई लेनको फुटपाथ छोड्नुपर्ने सबैलाई मापदण्ड लागेको हो ।’

तर यहाँ अह लागेन त्यो मापदण्ड । उल्टै पुलको संरचना यसरी सेपेर, घरलाई यसरी छोडियो । केही वर्ष पहिले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा माइतीघर–भक्तपुर सडक सम्पन्न भएको थियो । जाइकाले पूरै सडक ६ लेनको निर्माण गरेपनि धोबीखोला र वाग्मती पुल चार लेनका थिए । सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान थिए । पुल बनेपछि भने केही सहज भएको छ ।’

सम्बन्धित खबरहरु