काठमाडौं । बिहीबार एउटा ह्दयविदारक भिडियो आएको थियो । काठमाडौं महानगरपालिकाका प्रहरीहरु ठेलामा एक महिलालाई हुत्याउँदै ठेला तानिरहेका थिए । महिला मेरो शरीर भाँचिएर स्टिल लगाएको छ । गरिखाने अर्को बाटो कुनै छैन ।

यही ठेलापनि विदेशमा रहेका सहयोगी मन भएकाहरुले सहयोग स्वरुप दिएको पैसाबाट किनेको हो । अब देखि म यता ल्याउँदिन । मेरो ठेला नलगिदिनुहोस् भन्दै रोइरहेकी थिइन् । छेउमा दुध बालक लड्दै उठ्दै आमाको छेउमा आउन खोजिरहेको थियो । तरपनि ती प्रहरीलाई उनका आँश र चिच्यामा कुनै दया जागेन । ठेला लगेरै छोडे ।

ठेला जफत गरेपछि महानगरकै गाडीमाथि आफ्नो ठेला समातेरै शर्मिला तामाङ बिहीबार महानगर प्रहरीको ब्यारेकसम्म पुगिन् । ठेला र्फिता गरिदिन्छन् कि भन्ने झिनो आशले रोइकराइ गरिन् तर महानगर प्रहरीले जफत गरेको ठेला फिर्ता गरेन ।

थापाथली नदी किनारमा रहेको पौरखी बस्ती । शर्मीला यही बस्तीमा आफ्नो फुपूको टहरामा बस्दै आइरहेकी छिन् ।

महानगरीय प्रहरी बलका नगर उपरीक्षक राजुनाथ पाण्डेका अनुसार नियन्त्रणमा लिइएका ठेला स्वतः लिलामी प्रकियामा जाने र कुहिने सामानहरूलाई भने जरिवाना तिराएर छाड्ने गरिएकाले शर्मिलालाई ठेला दिन नसकेको बताउँछन् । शर्मिला तामाङको केसमा भने निम्न आय भन्ने विषय नै होइन ।

सडकपेटी, फुटपाथ अतिक्रमणको विषय हो र उहाँहरूलाई पटक–पटक सम्झाउँदा पनि नमानेपछि त्यस्तो भएको हो । हामी नियम कानूनको परिधिभित्र रहेर हामी काम गर्ने हो, हामीलाई यस्तो भावनात्मक कुरा गरेर कुनै अर्थ पनि राख्दैन, उनी भन्छन् ।

शर्मिला भने आफ्नो ठेलालाई डोजरले कुल्चिदिएपछि थापाथलीकै नदी किनारमा रहेको पौरखी बस्तीमा फर्किइन् । शर्मिला यही बस्तीमा रहेको आफ्नो फुपूको टहरामा बस्दै आइरहेकी छिन् । शुक्रबार दिउँसो बस्तीमा पुग्दा उनी, उनका श्रीमान् र २ वर्षीय बच्चा खाना खाँदै गरेका भेटिए । कोठामा एउटा खाट, ग्यास र पसलका थोरै सामानहरू थिए । बस्तीमा अधिकांशलाई डेंगी भएको थियो । उनका श्रीमान् पनि यसबाट अछुतो रहन सकेनन् ।

उनका श्रीमान् प्रायः लमजुङमै ज्यामी काम गर्दै आएका छन् । उनी कहिलेकाहीँ भने काठमाडौं आउने गरेका छन् । २०५९ सालमा सुन्दर भविष्यको कल्पनामा दम्पती काठमाडौं छिरेका थिए । लमजुङमा उनीहरूको घर मात्र छ बारी छैन, खेतीकिसानी गर्न गाह्रो छ। उनका श्रीमान्‌ले काम गरेर पाउनुपर्ने पैसा पनि अझै पाएका छैनन् ।

श्रीमान्‌को कमाइ नभएपछि घर धान्ने सम्पूर्ण जिम्मा शर्मिलाको काँधमा आइपुग्यो । श्रीमान् लमजुङ नै फर्किए । सुरु–सुरूमा अरुको घरमा काम गर्न बसेकी थिइन् । त्यसैक्रममा माइतीबाट काठमाडौं फर्किने क्रममा दुर्घटनामा परिन् । उनको दाहिने काँधमा स्टिल लगाउनुपर्ने भयो । त्यसपछि उनले घरको काम गर्न सकिनन् ।

भक्तपुरस्थित इवामुरा अस्पतालले १ वर्षमा निकाल्नु पर्छ भनेको स्टिल साढे २ वर्ष हुँदा पैसा नभएकाले त्यसै छ । अस्पतालले १ वर्षमा निकाल्नुपर्छ भनेको स्टिल साढे २ वर्ष हुन लाग्दा पनि अझै पनि उनको काँधमै छ । आर्थिक स्थिति कमजोर भएपछि हातको दुखाइ सहेरै भए पनि सुरु–सुरुमा छोरालाई बोकेरै नाङ्लो पसल खोलिन् ।

पछि त्यतैका स्थानीय दलबहादुर कामीले उनलाई अन्यको सहयोगमा ठेला मिलाइदिएका थिए । ठेला पाएपछि उनी खुसी थिइन् । बिहान ४ बजे बच्चा बोकेर कालिमाटी जान्थिन् । सामान ल्याएर पसल जान्थिन् । दुई छाक खानलाई गाह्रो थिएन । ुआफ्नो गरिखाने भाँडो नै त्यही थियो, त्यही पनि गयो, उनी भन्छिन् ।

महानगरले सडक व्यापारमाथि कडाइ गरेपछि अब के गर्ने भन्ने दोधारमा छिन् उनी । म त आधा पेट खाएर बसूँला तर यो बच्चाको पेट कसरी भर्ने ? उनी भन्छिन्, सडकमा बस्ने रहर होइन, सटर लिएर बस्न सक्ने भएको भए सडकमा किन बस्थेँ र ? मजबुरीले नै आफूलाई सडकमा ल्याएको उनको भनाइ छ ।

यो पिडा देखेपछि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । मेयर राईले सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गरेका हुन् । अन्य व्यक्तिहरुलेपनि उनलाई केही सहयोग गरेका छन् ।

थोरै नै भए पनि सहयोग प्राप्त भएपछि उनलाई केही राहत महसुस भएको छ । उनी भन्छिन्, अब सकियो भने सटर लिएर व्यापार गर्छु । आफूलाई जस्तो पीडा अरु ठेला व्यापारीहरूलाई नपरोस् भन्ने उनको चाहना छ । कान्तिपुर

सम्बन्धित खबरहरु