१८ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र एमाले उपाध्यक्ष विद्या भण्डारी विराटनगर विमानस्थलदेखि काठमाडौं विमानस्थलसम्म करीव डेढ घण्टा सँगै यात्रामा रहँदा पनि राजनीतिक विषयमा कुनै कुरा हुन सकेन । तर, उनीहरुले स्वास्थ्यका विषयमा भने खुलेरै कुरा गरे ।

प्रसंग हो शुक्रबारको । पूर्वाञ्चलको करीव एक महिने बसाइ सिध्याएर काठमाडौं आउन लागेका पूर्वराजा र पार्टी कामले पूर्वाञ्चल गएकी एमाले उपाध्यक्ष भण्डारीबीच विराटनगर विमानस्थलको भीआइपी कक्षमा जम्काभेट भयो । त्यहाँ उनीहरुले करिब आधा घण्टा कुराकानी गरे ।

दुवैजनाबीच नमस्कार आदान-प्रदान भयो, सञ्चो बिसञ्चोको कुरा भयो । तर, मुलुकको राजनीतिक तातिएका बेलामा पनि पूर्वराजाले राजनीतिको र समेत उच्चारण गरेनन् ।

भीआइपी कक्षमा पूर्वराजालाई देखेपछि विद्या भण्डारीलगायत एमालेको टोलीले उठेर नमस्कार गरेको थियो ।

क्यान्सर रोगबाट पीडित विद्या भण्डारीलाई पूर्वराजाले ‘अहिले हेल्थ कस्तो छ ?’ भनेर सोधेका थिए । विद्याले किमो दिएपछि सुधार भइरहेको बताएकी थिइन् ।

विद्याले पूर्वराजालाई पूर्वाञ्चलको बसाइ कस्तो भयो भनेर सोधिन् । उनले पूर्वराजाको स्वास्थ्य अवस्थाका विषयमा पनि चासो लिइन् । संविधानका कुरा गर्दा पूर्वराजा मुसुमुसु हाँसे  ।

विद्यासँगै भीआइपी कक्षमा रहेका एमालेका कोशी अञ्चल संयोजक जीवन घिमिरेका अनुसार पूर्वराजाले खासै धेरै कुरा गर्न चाहेनन् ।

पूर्वराजा झापाको दमक स्थित हिमालय टि स्टेटमा १५/२० दिनदेखि मुकाम बनाएर बसेका थिए । सपरिवार पूर्वाञ्चलमा बसेका पूर्वराजालाई विमानस्थलमा विदाइ गर्न सदभावना पार्टीका पूर्वनेता बद्री मण्डलसँगै गएका थिए ।

मण्डलले संविधान जारी गर्न नसकेको र विपक्षलाई पेल्ने नीति लिएको भन्दै पूर्वराजाकै सामुन्ने एमाले नेतृत्वसमक्ष असन्तुष्टि जनाए । पूर्वराजा भने मुसुमुसु हाँसेर बसेको घिमिरेले जानकारी दिए ।

‘उहाँहरुबीच राजनीतिक कुराकानी भएन, सञ्चो बिसञ्चो र औपचारिकताका कुरामात्रै भए’ घिमिरेले भने ‘हामी भीआइपी कोठामा छिर्दा पूर्वराजा एकाएक झसंग भए ।’

विमानस्थलका सुरक्षाकर्मीले शुरुमा एमाले नेताहरुलाई भीआइपी कक्षमा छिर्न रोकेका थिए । उनीहरु एमाले नेताको टोली कक्षभित्र छिर्दा सुरक्षाकर्मी एकाएक आत्तिएका थिए ।

ज्ञानेन्द्रले ज्ञवालीलाई भने-म चिन्छु

पूर्वराजा र विद्या बसिरहेका बेला एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवाली, मोदनाथ प्रश्रित पनि भीआइपीमा प्रवेश गरे । युवराज ज्ञवालीले ‘म युवराज ज्ञवाली, एमालेको उपाध्यक्ष’ भनेर परिचय दिँदा पूर्वराजाले म तपाईलाई चिन्छु भन्ने जवाफ दिए ।

करीव आधा घण्टाको बसाइपछि पूर्वराजा र विद्या भण्डारी चार बजेको एउटै फ्लाइटबाट काठमाडौं फर्किएका थिए ।

सम्बन्धित खबरहरु