काठमाडौं । नेपालमा टिकटकबाट लाखौं करोडौं कमाएको दाबी गर्नेहरुको कमी छैन् । तर यतिबेला टिकटकलाई लिएर एक गम्भीर खुलासा भएको छ । सिरियाली शिविरमा विस्थापित परिवारहरूले टिकटकमा चन्दा (गिफ्ट) मागिरहेका छन् ।

तर कम्पनीले कुल आम्दानीको ७०% सम्म लिने गरेको खुलासा भएको हो । बीबीसीले गरेको अनुसन्धानले सो कुरा पत्ता लगाएको हो । बालबालिकाहरू नगद मूल्यका साथै डिजिटल उपहारहरूको लागि बिन्ती गर्दै घन्टौं एपमा लाइभ स्ट्रिमिङ गरिरहेका छन् ।

बीबीसीका अनुसार स्ट्रिमबाट प्रति घण्टा हजार डलरसम्म आम्दानी हुने गरेको देखियो । तर शिविरमा रहेका मानिसहरूले त्यसको एकदम सानो अंश मात्र पाइरहेका छन् । जवाफमा टिकटकले उपहार माग्नेविरुद्ध तुरुन्त कारबाही गर्ने बतायो ।

कम्पनीले यस प्रकारको सामग्रीलाई आफ्नो प्लेटफर्ममा बन्देज गरिएको बताएको छ । साथै, उसले डिजिटल उपहारबाट आउने कमिसन ७० प्रतिशतभन्दा कम रहेको जानकारी दियो । तर कम्पनीले अहिले लिइरहेको कमिसन रकम पुष्टि गर्न अस्वीकार गर्यो ।

यस वर्षको सुरुमा, टिकटक प्रयोगकर्ताहरूले आफ्नो फिडहरू सिरियाली शिविरहरूमा रहेका परिवारहरूको लाइभस्ट्रिमले भरिएको देखे । उत्तर–पश्चिम सिरियाका शिविरहरूमा, बीबीसीले यो प्रवृतिलाई तथाकथित ‘टिकटक बिचौलिया’ द्वारा सुविधा दिएको भनेर पत्ता लगायो, जसले परिवारहरूलाई लाइभ आउनका लागि फोन र उपकरणहरू उपलब्ध गराउँथे ।

बिचौलियाहरूका अनुसार उनीहरूले चीन र मध्य पूर्वमा टिकटकसँग सम्बद्ध एजेन्सीहरूसँग मिलेर काम गर्छन्, जसले परिवारहरूलाई टिकटक खाताहरूमा पहुँच प्रदान गर्न सहयोग समेत गर्छन् ।

ती एजेन्सीहरू नयाँ लाइभस्ट्रिमरहरू ल्याउन र प्रयोगकर्ताहरूलाई एपमा बढी समय बिताउन प्रोत्साहन गर्ने टिकटकको विश्वव्यापी रणनीतिको हिस्सा भएको विश्वास पनि गरिएको छ । टिकटक एल्गोरिथ्मले प्रयोगकर्ताको फोन नम्बरको भौगोलिक उत्पत्तिको आधारमा सामग्री सुझाव दिने भएकोले, बिचौलियाहरूले ब्रिटिश सिम कार्डहरू प्रयोग गर्न रुचाउछन् ।

उनीहरू भन्छन्, ‘बेलायतका मानिसहरू सबैभन्दा उदार उपहारकर्ता हुन् ।’ मोना अली अल–करिम र उनका छ छोरीहरू प्रत्येक दिन टिकटकमा लाइभ आउने परिवारहरू मध्येका हुन्, उनीहरू शिविरको पालभित्र भुइँमा घन्टौं बसेर, आफूलाई थाहा भएका केही अंग्रेजी वाक्यांशहरू दोहोर्याउँदै भन्छन्, ‘कृपया लाइक, सेयर गर्नुहोस्, कृपया उपहार दिनुहोस् ।’

मोनाका पति हवाई हमलामा मारिएका थिए । टिकटक लाइभस्ट्रिममा बसेर उनी आफ्नी दृष्टीविहीन छोरीको शल्यक्रियाका लागि चाहिने पैसा जोहो गर्न उपहार सहयोग माग्छिन् । उनीहरूले त्यसरी माग्ने उपहार भनेको वास्तविक उपहार नभइ भर्चुअल उपहार हुन्छ । तर त्यस्तो भर्चुअल उपहारको एक खास मूल्य भने हुन्छ, जसलाई एपबाट नगदमा रुपान्तरण गरेर लिन मिल्छ ।

लाइभस्ट्रिमका दर्शकहरूले डिजिटल उपहारहरू किन्छन् । उदाहरणका निम्ति गुलाफको फूलको केही सेन्ट पर्छ भने सिंह वा ब्रह्माण्डको ५०० अमेरिकी डलरसम्म पर्छ । पाँच महिनासम्म, बीबीसीले विस्थापित व्यक्तिहरूका लागि सिरियाली शिविरहरूबाट प्रत्यक्ष प्रसारण गर्ने ३० टिकटक खाताहरू अनुसरण (फलो) गर्‍यो ।

तिनीहरूबाट जानकारी प्राप्त गर्न कम्प्युटर प्रोग्राम निर्माण गरियो, जसले दर्शकहरूले प्राय: प्रत्येक खातामा एक हजार डलर प्रति घण्टा सम्मको डिजिटल उपहारहरू दान गरिरहेको देखायो । बीबीसीलाई शिविरमा रहेका परिवारहरूले उनीहरूले यी रकमहरूको सानो अंश मात्र प्राप्त गरिरहेको बताए ।

टिकटकले उपहारबाट कति लिन्छ भन्ने कुरा खुलाउन अस्वीकार गरेपछि बीबीसीले पैसा कहाँ जान्छ भनेर खोजी गर्न एउटा प्रयोग गर्यो । सिरियाका एक रिपोर्टरले टिकटकसँग सम्बद्ध एजेन्सीहरू मध्ये एकलाई सम्पर्क गरे, उनी शिविरमा बस्दै थिए । उनले एक खाता पत्ता लगाए जसबार लाइभ भयो । त्यसपछि लण्डनमा भएका एक बीबीसी कर्मचारीले अर्को खाताबाट १०६ डलरको टिकटक उपहार किनेर पठाए ।

लाइभस्ट्रिमको अन्त्यमा, सिरियाली परीक्षण खाताको रकम ३३ डलर मात्र थियो । त्यसमा टिकटकले उपहारको ६९ प्रतिशत कमिसन लियो। चर्चित टिकटकर तथा पूर्व–पेशेवर रग्बी खेलाडी किथ मेसनले एक परिवारलाई लाइभस्ट्रिमको समयमा ३३० डलर सहयोग गरे । त्यो मात्र नभएर उनले आफ्ना लगभग १० लाख अनुयायी(फ्यान)हरूलाई त्यसै गर्न प्रोत्साहित समेत गरे ।

तरपछि हामीले उनले पठाएकोमध्ये धेरैजसो रकम सामाजिक सञ्जाल कम्पनी टिकटकले लिएको बताएपछि उनले यो सिरियाका परिवारहरूका लागि हास्यास्पद र अनुचित भएको टिप्पणी गरेका छन् । उनले भने, ‘तपाईंमा केही पारदर्शिता हुनुपर्छ । मेरो लागि यो धेरै लोभी हो । यो लालच हो ।’

बीबीसीको १०६ डलर उपहारबाट बाँकी ३३ डलरलाई स्थानीय मनी ट्रान्सफर पसलबाट निकाल्दा थप १० प्रतिशतले घटेको थियो । टिकटक बिचौलियाहरूले बाँकी ३५ प्रतिशत लिनेछन् । अब त्यो परिवारले केवल १८ डलर मात्रै पायो ।

शिविरमा रहेका टिकटक बिचौलिया मध्येका एक हमिदले बीबीसीलाई आफूले ती परिवारसँग काम गर्न मोबाइल फोन, सिम कार्ड र वाइफाइ जडानको लागि तिर्न आफ्नो गाईवस्तु बेचेको कथा सुनाए । अब उनी १२ विभिन्न परिवारहरूसँग दिनको धेरै घण्टा लाइभ गर्छन् ।

हमिदका अनुसार परिवारलाई जीविकोपार्जन गर्न मद्दत गर्नका आफूले टिकटक प्रयोग हुन्छ । आफूले आफ्नो चल्ने लागत कटाएर सबै रकम लाइभ आउनेहरूाई दिने गरेको जानकारी गराए । अन्य बिचौलियाहरू जस्तै, हमिदले पनि आफूलाई चीनमा भएका ‘लाइभ एजेन्सीहरू’ द्वारा सहयोग मिल्ने गरेको सुनाए ।

चीनका ती एजेन्सीहरू टिकटकसँग प्रत्यक्ष काम गर्छन् । हमिदले भने, ‘उनीहरूले हामीलाई एपमा कुनै समस्या भएमा मद्दत गर्छन् । तिनीहरूले बन्द गरिएका खाताहरू अनलक गर्छन् । हामी तिनीहरूलाई पेजको नाम, प्रोफाइल तस्वीर दिन्छौं र तिनीहरूले खाता खोल्छन् ।’

ती जस्ता एजेन्सीहरूलाई ‘लाइभस्ट्रिमिङ गिल्ड’ भनेर चिनिन्छन्, संसारभरि छन् । उनीहरू प्रयोगकर्ताहरूलाई थप आकर्षक लाइभस्ट्रिमहरू बनाउन मद्दत गर्न टिकटकसम्ग सम्झौता गरेर काम गर्छन् । एजेन्सीहरूले बीबीसीलाई बताए अनुसार टिकटकले उनीहरूलाई लाइभस्ट्रिमको अवधि र प्राप्त उपहारको मूल्य अनुसार कमिसन तिर्छ ।

सिरियाली शिविरहरूमा रहेका बच्चाहरू सहित टिकटक प्रयोगकर्ताहरू एक पटकमा घण्टासम्म लाइभ हुन्छन् । डिजिटल अधिकार संस्था एब्सेस नाउकी मारवा फटाफ्ता भन्छिन्, ‘यी लाइभस्ट्रिमहरू प्लेटफर्ममा नाबालिगहरूलाई हानि, खतरा वा शोषण रोक्न टिकटकको आफ्नै नीतिहरूको विपरीत चल्छन् ।

टिकटकले स्पष्ट रूपमा बताउँछ कि टिकटक प्रयोगकर्ताहरूलाई उपहारहरू माग्ने अनुमति छैन, त्यसैले यो उनीहरूको आफ्नै सेवाका सर्तहरूको साथै ती व्यक्तिहरूको अधिकारको स्पष्ट उल्लङ्घन हो ।’ उनी स्वीकार्छिन् कि मानिसहरूसँग सहयोग र सहानुभूति खोज्ने प्रयास गर्न अनलाइनमा आफ्ना कथाहरू साझा गर्ने अधिकार छ ।

तर उनी भन्छिन्, ‘यी लाइभस्ट्रिमहरूमा सम्मानको कमी छ, योअपमानजनक छ ।’ टिकटकको नियमहरूका अनुसार तपाईं लाइभ आउनअघि तपाईंसँग एक हजार फलोअरहरू हुनुपर्दछ । लाइभ आएर तपाईं प्रत्यक्ष रूपमा उपहार माग्न सक्नुहुँदै । प्लेटफर्ममा नाबालिगहरूको हानि, खतरा वा शोषण रोक्ने कुरा पनि टिकटकको सर्तमा रहेको छ ।

तर जब बीबीसीले इन–एप प्रणाली प्रयोग गरी बालबालिकालाई भिख माग्ने लाउने ३० वटा खाताहरूबारे रिपोर्ट गर्‍यो, टिकटकले आफ्नो कुनै पनि नीतिको उल्लङ्घन नभएको बताएको थियो । तर जब बीबीसीले टिप्पणीका लागि टिकटकलाई सिधै सम्पर्क गर्यो तब कम्पनीले सबै खाताहरूमाथि प्रतिबन्ध लगाइसकेको थियो । कम्पनीले एक विज्ञप्तिमा भन्यो, ‘हामी बीबीसीले हामीलाई ल्याएको जानकारी र आरोपहरूबाट गहिरो रूपमा चिन्तित छौं, र तुरुन्त र कठोर कदम चालेका छौं । हाम्रो प्लेटफर्ममा यस प्रकारको सामग्रीलाई कुनै ठाउँ छैन । हामी शोषणात्मक भीख माग्नेबारे हाम्रो विश्वव्यापी नीतिहरूलाई अझ बलियो बनाउँदैछौं ।’

विश्लेषक कम्पनी सेन्सर टावरका अनुसार, विश्वको सबैभन्दा तिव्र बढिरहेको सामाजिक सञ्जाल एप टिकटकले २०१७ देखि नै इन–एप खर्चबाट ६.२ अर्ब डलरभन्दा बढी आम्दानी गरेको छ ।

बीबीसीले टिकटक लाइभमा पैसा कमाउने विकल्पको रूपमा शिविरमा रहेका परिवारहरूलाई सहयोग गर्न सिरियामा काम गर्ने धेरै परोपकारी संस्थाहरूलाई सम्पर्क गर्यो ।

स्थानीय परोपकारी संस्था तकाफुल अलशामले आगामी तीन महिनासम्म परिवारलाई आधारभूत सामग्री उपलब्ध गराउने, बालबालिकालाई विद्यालय खोज्न र शैक्षिक खर्च जुटाउन सहयोग गर्ने बताएको छ ।

तर शिविरहरूमा धेरैका लागि, अनलाइन भिख माग्नु बाहेक पैसा कमाउने थप केही विकल्पहरू पनि छन् । तर अझैं पनि सयौं परिवारहरू हरेक दिन लाइभ आउन जारी राख्छन् । दया गरेर दान गरिएको अधिकांश रकम अझै पनि टिकटकले लगिरहेको छ । बीबीसी

सम्बन्धित खबरहरु