काठमाडौं । इन्डोनेशिया र गाम्बियामा खोकीको झोल औषधीका कारण सयौँ बालबालिकाको मृत्यु भएपछि नेपाली औषधी नियामक निकायका अधिकारीहरूले नेपालमा पनि सजगता अपनाउनुपर्ने बताएका छन् ।

दुई देशमा २०० भन्दा धेरै बालबालिकाको मृत्यु भएको छ । इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधी बेच्न प्रतिबन्ध लगाइएको छ । त्यसअघि द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधीको सम्बन्ध रहेको पाइएको थियो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित खोकी रोक्ने औषधीहरूलाई गाम्बियामा भएका घटनासँग जोड्दै खोकीका चारवटा औषधीबारे विश्वव्यापी चेतावनी जारी गरेको थियो ।

नेपाली अधिकारीहरू के भन्छन् ?
नेपालको औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले नेपालमा झोल ओषधीहरूका कारण कुनै समस्या नदेखिएका भए तापनि इण्डोनेशिया र द गाम्बियाका घटनाका कारण आफूहरू सजग भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘इन्डोनेशिया औषधी नियमन गर्ने विषयमा हाम्रो भन्दा राम्रो गुणस्तर मापदण्ड कायम गर्ने देशमा पर्छ । यस्तो जोखिम जहाँबाट कच्चा पदार्थ ल्याइयो त्यहाँबाट नै आउँछ । त्यही भएर के गर्ने भनेर हामी आन्तरिक छलफलमा नै छौँ ।’

उहाँले थप्दै भन्नुभयो, ‘हाम्रोमा कुनै समस्या त देखिएको छैन । तैपनि अलिकति सजग गराउनुपर्ने अवस्था देखिएको छ ।’ द गाम्बियामा बालबालिकाको मृत्यु भएपछि डब्ल्यूएचओले मेइडन फार्मास्युटिकल्सले उत्पादन गरेका सिरपहरूबारे प्रश्न उठाएको थियो ।

उसले ती सिरपहरूमा डाईएथलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ अस्वीकार्य मात्रामा रहेको जनाएको थियो ।

साथै ती सिरपका कारण गाम्बियामा बालबालिकाको ज्यान लिने खालको मृगौला सम्बन्धी घातक स्वास्थ्य समस्या देखा परेको हुनसक्ने उसको भनाइ थियो ।

इन्डोनेशियाका अधिकारीहरूले सिरप औषधीमा मिर्गौलामा गम्भीर असर पार्ने अक्यूट किड्नी इन्जरी (एकेआई) गराउने पदार्थहरू फेला परेको उल्लेख गरेको भएपनि प्रतिबन्ध लगाइएका औषधी विदेशबाट आयात गरिएका हुन् वा स्थानीय उत्पादन हुन् भन्ने कुरा स्पष्ट पारिसकेको छैन ।

नेपालको औषधी व्यवस्था विभागका सूचना अधिकारी केसीले डाईएथलीन ग्लाइकोल प्रयोग गरेर नेपालमा औषधी नबनाइने जानकारी दिनुभयो ।

तर कतिपय विज्ञहरूले भारतसँग खुला सिमाना भएको र चिकित्सकहरूको परामर्श विना नै खोकीका औषधीहरू किन्ने प्रचलन व्याप्त रहेको भन्दै सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् । बीबीसी नेपाली सेवाबाट

सम्बन्धित खबरहरु