काठमाडौँ । Book Courageous Mother : ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक कृति सार्वजनिक भएको छ । घोस्ट राइटिङ नेपालले आज आयोजना गरेको एक कार्यक्रममा उक्त कृति कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सार्वजनिक गर्नुभयो ।

उहाँले त्यो समयमा आमाहरूले भोगेको वास्तविकतालाई किताबमा उतार्नु महत्त्वपूर्ण भएको र यस्ता यथार्थलाई लेख्नु र पढ्नुपर्ने बताउनुभयो । “विगतमा आमाले भोगका दुःख, पीडा र यथार्थलाई लेख्नु र पढ्नुपर्छ”, उहाँले भन्नुभयो, “पुस्तक पढेन भने आमामाथि अन्याय हुन्छ, एकै बसाइमा पढ्ने खालको पुस्तक छ ।”

माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले आमाहरूले भोगेका दुःख, त्यो बेलाका भोगाइलाई पुस्तकका रूपमा सार्वजनिक गर्नु राम्रो काम भएको र यस्ता इतिहासले वर्तमान पुस्तालाई थप प्रोत्साहन मिल्ने बताउनुभयो ।

पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले पुस्तकको समीक्षा गर्दै डम्बरकुमारी आमाको माइती घर, कर्म घर र जीवनकालमा भोगेका सम्पूर्ण कथाहरू पुस्तकमा समेटिएको बताउनुभयो । आमाले शिक्षाको विषयमा असाध्यै राम्रो चेतना भएको र संसार पढ्नेहरूको भएको कुरा पुस्तकमा भएको सुनाउनुभयो ।

पुस्तकको समीक्षा गर्दै लेखिका डा अर्चना थापाले विगतमा आमाहरूले भोगेका जीवन कहानी समेटिएको र पुस्तक पढेर नयाँ पुस्ताका महिलालाई थप प्रेरणा दिने बताउनुभयो ।

पुस्तकको मुख्य पात्र ७८ वर्षीया डम्बरकुमारी तिम्सिनाले आफूले भोगेका जीवन कहानी पुस्तकका रूपमा आएकोप्रति खुसी व्यक्त गर्दै सबैलाई एकपटक पढिदिन आग्रह गर्नुभयो ।

पुस्तक उहाँकी छोरी पूर्वप्रमुख सूचना आयुक्त तथा पत्रकार यशोदा तिम्सिनाले लेख्नुभएको हो । पुस्तकमा उहाँकी आमा बाल्यकालदेखि अहिलेसम्मको जीवन कहानी उल्लेख छ । (रासस)

 

सम्बन्धित खबरहरु