काठमाडौं । Uranium mining and exploration for the rapid development of Nepal : नेपाल सरकारले असारमा सरकारले रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्ने विधेयक तयार पार्यो ।
त्यसयता नेपालमा युरेनियमको चर्चा ह्वात्तै बढेको छ । अहिले नेकपा माओवादी केन्द्रले समय आफ्नो घोषणा पत्रमा युरेनियम प्रशोधन गर्न जोड दिने उल्लेख गरेको छ ।
नेपालका विभिन्न ठाउँहरूमा युरेनियम पाइने चर्चा पहिल्यैदेखि थियो तर सरकारले विधेयक नै ल्याएपछि यसको बारेमा बहस बढेको छ । परराष्ट्रविद तथा रुसका लागि नेपालका राजदूत रहिसकेका हिरण्यलाल श्रेष्ठले केही साताअघि नेपालको युरेनियममा रूसको चासो रहेको हुन सक्ने सम्भावना व्यक्त गर्नुभयो ।
नेपालमा युरेनियम रहेको पुष्टि भएसँगै रुसमात्र नभएर अमेरिका र भारतसमेतको विशेष चासो रहेको श्रेष्ठले बताउनुभयो । अहिले रुस र युक्रेन युद्धमा होमिएको र यो युद्धले विश्वका शक्ति राष्ट्र नै पक्ष विपक्षमा रहेका कारण उनीहरुले नेपालको युरेनियममा आँखा लगाइरहेका छन् ।
तर नेपालमा कति छ त युरेनियम ?
खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथाङमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ ।
विज्ञहरूका अनुसार सो क्षेत्रमा ३५ टनसम्म युरेनियम हुन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनियमको मूल्य १८ करोडससम्म रहेको छ ।
मुस्ताङमा मात्र नभएर मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत युरेनियम रहेको विभागले बताएको छ । अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथाङमा रहेको पुष्टि भएको हो ।
के हो युरेनियम ?
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २ सय ३८ परमाणविक भार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ ।
विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।
युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम–२३८ र युरेनियम–२३५ । प्राकृतिक रूपमा युरेनियम–२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगि प्रशोधन गरिएपछि युरेनियम–२३५ बनाइन्छ ।
एक किलो युरेनियम–२३५ को परिमाणबाट उत्पादित विधुत् शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ ।
तर, एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ ।
ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारकि वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई युरेनियम–२३५ भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करीब १८ करोड रुपियाँ) पर्छ ।