काठमाडौं । ट्विटरको मालिक बनेपछि एलोन मस्क लगातार चर्चामा छन् । कसैले उनको आलोचना गरिरहेका छन् त धेरैले प्रशंसा पनि गरिरहेका छन् ।

सामाजिक सञ्जाल विज्ञहरूले मस्क आएपछि ट्विटरको जीवन सकिएको दाबी गर्छन् ।

तर मस्कले ट्विटरलाई इन्टरनेट संसारको सबैभन्दा रोचक ठाउँ मान्छन् । एलोन मस्कले ट्वीटरलाई ४४ अर्ब अमेरिकी डलरमा किनेको धेरै भएको छैन् ।

सम्झौतापछि उनले निलो टिक प्रमाणीकरणका लागि मासिक ८ डलर लिने घोषणा गरेका छन् । मस्कले बुधबार ट्वीट गर्दै भनेका, ‘ट्विटर इन्टरनेटमा सबैभन्दा रोचक ठाउँ हो, त्यसैले तपाई अहिले यो ट्वीट पढ्दै हुनुहुन्छ ।’

यसअघि उनले बामपन्थी र दक्षिणपन्थी दुवैबाट आलोचना भइरहेको भन्दै यो राम्रो संकेत भएको भन्दै ट्वीट गरेका थिए । मस्कका अनुसार, मानिसहरूले ८ डलरमा अधिक सुविधा प्राप्त गरिरहेका छन् । ट्विटर ब्लूमा सामेल हुन ८ डलर तिरेका प्रयोगकर्ताहरूले निलो टिकको साथ सम्पादन बटन पाउनेछन् । यस बाहेक, स्प्याम खाताहरु बन्द हुने उनको बुझाई रहेको छ ।

सो सुविधा लिनेहरुलले विज्ञापनहरू पनि ५० प्रतिशत कम देख्नेछन् । यद्यपि एलोन मस्कले अर्को विज्ञप्तिमा सबै प्रयोगकर्ताहरूले निस्शुल्क ट्वीट सम्पादन गर्ने सुविधा पाउने बताए । एलोन मस्क मालिक बनेपछि उनले पूरै साता काम गर्न कर्मचारीलाई निर्देशन दिएको धेरैको दाबी छ । साप्ताहिक बिदा खारेज गरेका उनले दैनिक १२ घण्टा काम गर्न लगाउँछन् ।

यसैबीच, एक महिला कर्मचारीको तस्बिर भाइरल भइरहेको छ, जुन तस्बिर ट्विटर कार्यालयको हो । ओभरटाइम काम गरेकी महिला कर्मचारी अफिसको भुइँमा सुतेको दाबी गरिएको छ । ओभरटाइम कामको पैसा समेत नदिएको धेरैको आरोप छ । मस्क ट्विटरको मुख्यालय पनि सार्ने तयारीमा रहेको बताइएको छ ।

सम्बन्धित खबरहरु