काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमस्थित भारतको सीमाबाट आफ्नो चुनावी सभा सुरु गर्नुभएको छ ।

पार्टीको चुनावी अभियानको सुरुवात गर्दै ओलीले भारततर्फ नै इंगित गरेर नेपालले आफ्नो एक इन्च जमिन कसैलाई नछाड्ने बताउनुभयो ।

दार्चुलाको सदरमुकाम खलंगामा चुनावी अभियानको पहिलो कार्यक्रममा शुक्रबार अध्यक्ष ओलीले सीमाको विषयमा भारतलाई सानो चित्त नदेखाउन आग्रह गर्नुभयो ।

नेपालले आफ्नो एक इन्च जमिन पनि कसैलाई छाड्नेवाला छैन । हामी एक इन्च जमिन पनि मिचिन दिनेवाला छैनौं, ओलीले भन्नुभयो, मिचिएको भए फिर्ता ल्याउँछ । हामीले नक्सा जारी गरेका छौं, संसद्ले‌ सर्वसम्मतीले पारित गरेको छ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौं ।

कार्यक्रममा ओलीले दार्चुलामा बाटो निर्माण गर्नेको विषयमा भारतले झमेला झिकेको बताउनुभयो । नदी वर सर्दैमा सीमा नसर्ने भन्दै ओलीले भारतलाई सानो चित्त नदेखाउन आग्रह गर्नुभयो । ओली प्रधानमन्त्री हुँदा लिम्पियाधुरासहितको भूभाग समेटिएको नक्सा जारी गरेको थियो । चुच्चे नक्साको विषयमा एमालेको निर्वाचनमा प्रमुख एजेन्डाको रुपमा छ ।

एमालेको केन्द्रीय चुनावी अभियान अध्यक्ष ओलीले दार्चुलाबाट सुरुवात गर्नुभएको छ । उहाँले शुक्रबार नै बैतडी र कञ्चनपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावको अवधीभर अध्यक्ष ओलीले ४० जिल्लामा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ हेलिकोप्टरको प्रयोग गरिरहनुभएको छ । बिहानै धनगढीबाट शुभ बिहानी म दार्चुला आउँदैछु भनेर लेख्नुभएको थियो ।

दार्चुला जिल्ला नेपालले नक्सामा जमिन समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा भएको जिल्ला हो । उहाँले सोही भूमिको फेदमा जस्तो पर्ने जिल्लामा चुनावी सभा आयोजना गर्न लगाउनुभएको थियो ।

सम्बन्धित खबरहरु