काठमाडौं । ‘कुमारी आमा’ का रुपमा अधिकारको लडाई लडिरहनुभएकी निहारिका राजपुतको छोराको डीएनए उहाँले बलात्कारको अभियोग लगाएका शिवराज श्रेष्ठसँग मिलेको छ ।

खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिनुभयो । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो । सोही अनुसार डीएनए परीक्षण गरिएको थियो ।

राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गर्दै डीएनए परीक्षणको एक सुत्रिय माग अघि सार्नुभएको थियो । त्यसपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उहाँ अनशनमा नै बस्नुभयो ।

पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति भएपछि उहाँले अनशन तोड्नुभयो । सहमतिमा उहाँको माग बमोजिम आरोपी श्रेष्ठसँग उहाँको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । उहाँको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गर्नुपर्ने अवस्था थियो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले ३१ साउनमा श्रेष्ठलाई अभद्र व्यवहारको कसूरमा पक्राउ गरेर हिरासतमा राखेको थियो ।

उनले निहारिकासँग आफ्नो पहिले सम्बन्ध भए पनि बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । त्यसका लागि डीएनए जाँच गराउन आफू तयार रहेको बताएका थिए ।

निहारिकाले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने माग गर्दै आउँनुभएको छ । निहारिकाले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँच्न पाउने संवैधानिका अधिकारको सुनिश्चितताका लागि पनि सरकारले पहल गर्नुपर्ने माग उठाउनुभएको छ । डीएनए मिलेको जानकारी आएपछि उहाँले श्रेष्ठलाई पक्राउ गर्न अपिल गर्नुभएको छ ।

 

सम्बन्धित खबरहरु