काठमाडौं । कुमारी आमा’ का रुपमा अधिकारको लडाई लडिरहनुभएकी निहारिका राजपुतको छोराको डीएनए उहाँले बलात्कारको अभियोग लगाएका शिवराज श्रेष्ठसँग मिलेपछि पनि प्रहरीले अभियुक्त छोडेर राजपुतलाई पक्राउ गरेको छ । पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

जहाँ पनि पत्रकार सम्मेलन गर्न पाइने भन्ने हुँदैन, त्यसैले त्यहाँ नबस्नुस् भनेर केहिवेर नियन्त्रणमा लिएर छाडिसकेका छौं उहाँले भन्नुभयो ।’ आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेपछि अभियुक्तको डीएनए परीक्षण गर्ने सहमति भएको थियो । त्यसपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो ।

उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उहाँले अनशन त्याग्नुभएन ।

पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका्े उपस्थितिमा तीन बुँदे सहमति भएपछि उहाँले अनशन तोड्नुभयो ।

सहमतिमा उहाँको माग बमोजिम आरोपी श्रेष्ठसँग उहाँको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । सोही सहमति अनुसार अदालतले आदेश दिएको थियो । श्रेष्ठले आफू निर्दोष रहेको दाबी गर्दै डीएनए परीक्षण गर्न तयार भएका थिए ।

हालै आएको डीएनए जाँचको रिपोर्टमा राजपुतको कोखबाट जन्मिएको छोराको डीएनए श्रेष्ठको डीएनएसँग म्याच भएको छ । चुनावपछि यसमा पेश चढ्ने उच्च अदालत जनकपुरले जनाएको छ । श्रेष्ठलाई तत्काल पक्राउ गर्नुपर्ने राजपुतको माग छ ।

सम्बन्धित खबरहरु