काठमाडौं । एलोन मस्कले ट्विटर किनेदेखि नै चर्चा कम भएको छैन् ।
मस्क ट्वीटरको सीईओ बनेपछि हलिउड सेलिब्रेटी एम्बर हर्डले आफ्नो ट्विटर एकाउन्ट डिलिट गरेकी छिन् । एम्बर हर्ड आफ्ना पूर्वपति जोनी डेपविरुद्धको मानहानी मुद्दा हारेपछि पनि चर्चामा आएकी थिइन् ।
जसकारण उनले जोनी डेपलाई करोडौं रुपैयाँ जरिवाना तिर्नुपरेको थियो । एम्बर हर्ड ट्विटरबाट बाहिरिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । किनभने उनी एलोन मस्कसँग सम्बन्धमा थिइन् ।
आफ्ना पूर्वप्रेमीले ट्विटर किनेपछि उनले आफ्नो खाता डिलिट गरेको बुझिएको छ । एम्बर हर्डले ट्विटर छोडेपछि मान्छेहरुले सामाजिक सञ्जालमा प्रतिक्रिया पनि दिइरहेका छन् ।
एक ट्विटर प्रयोगकर्ताले तस्विर शेयर गर्दै एम्बर हर्डले आफ्नो खाता डिलिट गरेको बताए । यो थाहा पाएपछि मानिसहरुले निकै हास्यास्पद प्रतिक्रिया दिइरहेका छन् । धेरै व्यक्तिहरूले हर्डको ट्विटर खाता मस्क आफैंले डिलिट गरेको हुन सक्ने भन्दै मजाक उडाए ।
एम्बर हर्डले किन ट्वीटर छाडेकी हुन भन्ने अहिलेसम्म खुलेको छैन । उनको तर्फबाट यसबारे आधिकारिक रुपमा कुनै बयान आएको छैन् । जोनी डेपसँगको सम्बन्धको बारेमा कुरा गर्दा उनीहरु दुवैको भेट सन् २०१० मा ‘द रम डायरीज’ को सुटिङमा भएको थियो ।
दुवैले सन् २०१५ मा विवाह गरेका थिए, तर एक वर्षपछि छुट्टिए । अन्तत: सन् २०१७ मा दुवैको सम्बन्धविच्छेद भयो । एम्बर हर्ड र जोनी डेपको सम्बन्ध समाप्त भएपछि एम्बरको नाम एलोन मस्कसँग जोडिएको थियो । दुवै एकअर्कालाई डेट गर्दै थिए ।
सन् २०१६ मा पहिलो पटक उनीहरुको सम्बन्धबारे कुरा बाहिर आएको थियो । दुवैले आफ्नो सम्बन्धबारे केही भनेका थिएनन् । एम्बर र एलनले एक वर्षसम्म एक अर्कालाई डेट गरेको बताइन्छ ।
उनीहरु सन् २०१७ मा अलग भएका हुन् । सन् २०१८ मा दुवै फेरि सँगै भएको खबर आएको थियो । तर त्यो सम्बन्ध केही महिना मात्रै चल्यो । एलोन मस्कले ट्विटर किनेपछि ट्विटरलाई अलविदा गर्ने एम्बर हर्ड एक्लो छैनन् । उनीसँगै केन ओलिन, टोनी ब्रेक्सटन जस्ता हलिउड सेलिब्रेटीहरूले पनि ट्विटर छोडेका छन् ।