kp-oli-inपोखरा, माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो संविधानसभालाई असफल हुन नदिइने र संविधानसभाबाटै नयाँ संविधान जारी गरी छाड्ने दृढता व्यक्त गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको राष्ट्रिय परिषद् बैठकको उद्घाटन गर्दै उनले यसका लागि नेपाली काँग्रेसलगायत अन्य शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने र नेपाली जनतालाई अप्ठ्यारो हुने काम हुन नदिने गरी एमालेले नेतृत्व गर्ने बताए । “एक सय पच्चीस जातजाति भएको हाम्रो देशमा जातीयताका आधारमा प्रदेश विभाजन गरिए मुलुकले रुवान्डा, सुडान र नाइजेरियाको जस्तो स्थिति भोग्नुपर्छ, देशमा जातीय कलह, विग्रह र युद्ध निम्त्याउन खोज्ने तत्वसँग सावधान हुनु जरुरी छ” उनले भने ।

‘आफुले भनेको कुरा मात्रै सहमति हो भन्ने ठान्ने’ एकीकृत नेकपा (माओवादी)ले धम्की दिँदैमा तर्सिनुपर्ने कुनै जरुरी छैन भन्दै अध्यक्ष ओलीले एमाओवादी अझै पनि सम्हालिन सकेन भने अर्को निर्वाचनमा दुई/चार सिट पनि ल्याउन नसक्ने चेतावनी दिनुभयो ।

उनले प्रदेश बनाउँदा राज्यले धान्न सक्ने गरी थोरै बनाइनुपर्नेमा जोड दिँदै भने –“क्रान्ति जनताको अग्रगामी हितका लागि हुनुपर्छ, जालझेल, तिकडम र उत्पात मच्चाउने कामका लागि भने कदापि हुन सक्तैन । ”

जनसंस्कृति पुरस्कार खनाल, आले र बनेपालीलाई
सो अवसरमा उहाँले रु २५ हजार राशिको ‘जनसंस्कृति पुरस्कार’ वरिष्ठ चलचित्रकर्मी देशभक्त खनाल, रु १५ हजार राशिको ‘जनसंस्कृति युवा प्रतिभा पुरस्कार’ अन्जु आले र रु पाँच हजार राशिको ‘सहिद अनिल लामा स्मृति ललितकला युवा प्रतिभा पुरस्कार’ दीपेन्द्रमान बनेपालीलाई प्रदान गरे । कार्यक्रममा अध्यक्ष राम नेपाली, पद्मराज ढकाल, नारायण परिश्रमी र होम नेपालीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले देशमा सङ्कटको स्थिति पैदा गरी राष्ट्रिय एकता र शान्ति खल्बलाउने काममा केही शक्ति लागेकाले जनता सचेत हुनुपर्ने धारणा राखे ।

सम्बन्धित खबरहरु