माघ । प्रधानमन्त्री सुशील कोइरालासँग युरोपेली सङ्घका प्रतिनिधिमण्डलका राजदूत रेन्चे टिरिङको नेतृत्वमा आएका नेपालका लागि बेलायत, डेनमार्क, जर्मनी, फ्रान्स, फिनल्यान्ड, नर्वे र स्वीजरल्यान्डका राजदूतले संयुक्त रुपमा आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् ।
भेटवार्ता नेपालको राजनीतिक स्थिति, संविधान निर्माणको अवस्था, नेपाल र युरोपेली सङ्घबीचको राजनीतिक सहयोगलगायत विषयमा केन्द्रित भएको उहाँका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए। भेटमा प्रधानमन्त्री कोइरालाले माघ ८ को निर्धारित समयमा संविधान जारी हुन नसके पनि संविधान निर्माणको प्रक्रिया अगाडि बढेको बताउँदै संविधानसभामा रहेका केही राजनीतिक दलले देश र जनताको बृहत्तर हितमा लचक हुन नसक्दा सहमतिका लागि गरिएका प्रयास सार्थक परिणाममा पुग्न नसकेको बताए ।
भेटका क्रममा प्रधानमन्त्रीले देश र जनताको हितमा काम गर्न सरकार प्रमुख र सत्तारुढ नेपाली काँग्रेस पार्टीको सभापतिको हैसियतले सक्ने जति अधिकतम प्रयास गरिरहेको र आउँदा दिनमा गरिरहने बताए । “विगत सात वर्षदेखिको निरन्तर प्रयास भए पनि सहमतिमा कायम गर्न नसकेकाले प्रक्रियामा जानुपरेको हो,” उनले भने, “तर प्रक्रिया आफैँ पनि प्रजातान्त्रिक विधि हो, प्रजातन्त्रको लामो अनुभव भएका तपाईँहरू सबैलाई राम्रोसँग जानकारी छ ।”
“वार्ताको प्रयास छाडिएको छैन”
भेटमा प्रधानमन्त्री कोइरालाले भइसक्न लागेको सहमति केही दलको अनावश्यक अडानले अन्तिम क्षणमा बिग्रेको बताउँदै भने, “प्रक्रियाको कुरा गरे पनि सहमति, सहकार्य, एकता मेलमिलाप र वार्ताको प्रयास छाडिएको छैन ।” उनले भने, “म आफैँ गेट क्र्यास गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटन गएको छु ।” उनले नेपालीहरूले चारपुस्ता अगाडिदेखि लोकतन्त्रका लागि लडेको बताउँदै भने, “हामीले धेरै दुःख पायौँ, हामी थप दुःख निम्त्याउन चाहन्नौँ, आउने पुस्ताले पनि लोकतन्त्रकै लागि लड्नुपर्ने स्थिति नआओस् भन्नेमा हामी स्पष्ट छौँ ।”
प्रधानमन्त्रीले नेपालले हासिल गरेका सङ्घीयता, गणतन्त्र र समावेशी लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धिलाई जोगाउँदै लोकतान्त्रिक संविधान निर्माणका काममा देखिएका चुनौतीलाई लोकतन्त्रको लामो अभ्यास गरिसकेका मित्र राष्ट्रका राजदूतले राम्रोसँग बुझेको बताउँदै भने, “ जुत्ताले कहाँ दुखाउँछ भन्ने कुरा लगाउनेलाई नै राम्रो थाहा हुन्छ ।”
सो अवसरमा राजदूतहरूले आफूहरू नेपालको शान्ति, स्थायित्व र विकासका पक्षमा रहेको र सामाजिक आर्थिक विकास सहयोग गर्न तत्पर रहेको बताए ।