काठमाडौं । ट्विटरपछि फेसबुकले पनि ठूलो संख्यामा कर्मचारी कटौती गर्ने भएको छ ।
फेसबुकको मूल कम्पनी मेटाले ११ हजारभन्दा बढी कर्मचारीलाई निकाल्ने निर्णय गरेको हो । कम्पनीको आम्दानी घटेपछि यस्तो निर्णय लिइएको हो ।
यो निर्णयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गरेका छन् । आफ्नो विज्ञप्तिमा मार्क जुकरबर्गले भने, ‘आज म मेटाको इतिहासमा गरेका केही कठिन परिवर्तनहरू साझा गर्दैछु ।
मैले मेरो टोलीलाई लगभग १३ प्रतिशतले संकुचित गर्ने र १०,००० भन्दा बढी प्रतिभाशाली कर्मचारीहरूलाई हटाउने निर्णय गरेको छु ।’
उनले आफ्नो बयानमा थप भने, ‘मलाई थाहा छ, यो सबैका लागि गाह्रो छ, र म यसबाट प्रभावितहरूका लागि विशेष गरी दु:खी छु ।’ जुकरबर्गले सन् २००४ मा फेसबुक सुरु गरेका थिए ।
फेसबुकमा करिब ८७ हजार कर्मचारी कार्यरत छन् । मङ्गलबार, जुकरबर्गले कर्मचारीहरूलाई हटाउने विषयमा छलफल समेत गरेका थिए ।