prachandaमाघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले संघीयताबारे ‘कन्फ्यूजन’मा रहेका आफ्नो पार्टीका नेताहरुलाई कांग्रेस र एमालेको संज्ञा दिएका छन् । एमाओवादीले जातीय राज्यको कुरा नगरेको प्रचण्डले स्पष्ट पारेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न केन्द्रीय समितिको बैठकमा केही नेताहरुले पहिचानसहितको संघीयताबारे आम जनता र पार्टी कार्यकर्तामा समेत प्रष्टता नभएको बताएका थिए । उनीहरुले पार्टीमा छलफल र प्रशिक्षण चलाउन सुझाव दिएका थिए ।

तर, प्रचण्डले आफूहरुले जातीय राज्य नभनेको जवाफ दिएका छन् । ‘उत्पीडितहरुको पक्षमा आवाज उठाउनु हाम्रो दायित्व हो’ आक्रामकरुपमा प्रस्तुत भएका प्रचण्डले भने-‘हामीले जातीय राज्य भनेका होइनौं, पार्टीमा कसैलाई कन्फ्यूजन छ भने उनीहरु पनि कांग्रेस-एमाले हुन् ।’

१४/१५ वर्षदेखि पार्टीमा बहस छलफल गर्दै आएको विषयमा कांग्रेस र एमालेले जातीय राज्य भन्यो भन्दैमा कन्फ्यूज हुनु उनीहरुबाट प्रदुषित हुनुसरह हुने प्रचण्डले आन्तरिक बैठकमा बताए ।

संघीयताको बहस नाम र सीमाका विषयमा भन्दा पनि उत्पीडित जनतालाई अधिकार दिने कि नदिने भन्ने बारेमा केन्दि्रत भएको प्रचण्डले बताएका छन् ।

एमाओवादीसहितको ३० दलले तयार पारेको अपीलमा समेत पहिचानसहितको संघीयता भनेको जातीय राज्य नभएको प्रष्ट पारिएको छ । उक्त अपील एमाओवादी नेताहरुलाई समेत वितरण गरिएको छ ।

सघीयताबारे हाम्रो दृष्टिकोण शीर्षकमा मधेसी, जनजातिलगायतका समुदायको स्वायत्तताको चाहना अनुसार पहिचानसहितको संघीयता भनिएको र त्यो जातीय राज्य नभएको उल्लेख छ ।

तराईका पाँच जिल्लाबारे एमाओवादी खुला

स्रोतका अनुसार बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले संघीयताको मुख्य विवादित पाँच जिल्लाबारे पार्टीको धारणा समेत प्रष्ट पारेका छन् ।

बैठकमा नेताहरुले झापा, मोरङ र सुनसरीबारे धेरैले र केहीले कैलाली कञ्चनपुरबारे प्रश्न गरेका थिए । बैठकमा प्रचण्डले अहिले मधेसमा राख्नुपर्ने भनिएको तर, सबै विकल्प खुला रहेको बताएका थिए ।

छुट्टै प्रदेश बनाउनेदेखि जिल्ला टुक्र्याउनेसम्म विकल्पमा एमाओवादी खुला रहेको भन्दै उनले यो कांग्रेस र एमालेका कारण अडि्कएको बताए ।

नेताले सोधे-संघीय संसदवाद स्वीकार गरेको हो ?

एमाओवादी बैठकमा नेताहरुले शासकीयस्वरुपमा आफ्नो अडान छाडेकोमा असन्तुष्टि जनाएका छन् । अघिल्लो बैठकमा आफूहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडान नछाड्न भनेको स्मरण गराउँदै नेताहरुले फरक मत राखेर जान्छौं भनेकोमा प्रश्न गरेका थिए ।

‘संघीय संसदवाद स्वीकार गरेको हो भनेर प्रश्न आएको थियो’ एक नेताले भने-‘अध्यक्षले जवाफमा प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित परिर्वतनको अनुभूति हुने गरी सहमति गरेर जान तयार छौं भन्नुभएको छ ।’

पछाडि फर्कन नदिने तागत छ

बैठकमा माओवादी शीर्षनेताहरुले कांग्रेस र एमाले पछाडि र्फकन खोजेकाले त्यसलाई रोक्न आन्दोलन अपरिहार्य भएको बताएका छन् । ‘जीवन मरणको अवस्था हो यो, कि पेलिएर सिद्धिन तयार हुनुपर्‍यो, होइन भने आन्दोलनका लागि तयार हुनुपर्छ’ एक नेताले भने ।

बैठकमा प्रचण्डले कांग्रेस र एमालेलाई पछाडि र्फकनबाट रोक्ने तागत एमाओवादीसँग रहेको बताएको एक नेताले जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु