काठमाडौं । राजधानीमा भएको ६ महिना पुरानो हत्या प्रकरणमा सनसनीपूर्ण खुलासा भएको छ ।

प्रेमी आफताब अमीन पूनावालाले लिभ इन पार्टनर र प्रेमिका श्रद्धाको हत्या गरी उनको शवलाई ३५ टुक्रा पारेर १८ दिनसम्म दिल्लीका विभिन्न क्षेत्रमा लुकाएर राखेको खुलेको छ ।

भारतको केन्द्रीय राजधानी दिल्लीमा यो विभत्स हत्या भएको हो । दिल्ली प्रहरीले आरोपी अफताबलाई शनिबार पक्राउ गरेको थियो । एक वर्षअघि श्रद्धा आफताबसँग बस्न मुम्बईबाट दिल्ली गएकी थिइन् ।

श्रद्धा को थिइन् ?
२६ वर्षीया श्रद्धा मुम्बईको मलाड निवासी थिइन् । त्यहाँ उनी बहुराष्ट्रिय कम्पनीको कल सेन्टरमा काम गर्थिन् ।

आफताब–श्रद्धाको भेट कहिले र कसरी भयो ?
श्रद्धा र आफताब दुवै कल सेन्टरमा काम गर्थे । त्यहीँ दुवैको भेट भएको हो । दुवैले एक अर्कालाई माया गर्न थाले, तर परिवारका सदस्यहरू उनीहरुको सम्बन्धबाट सन्तुष्ट थिएनन् । जसकारण दुवै मुम्बईबाट दिल्ली गए र महरौलीको फ्ल्याटमा एकसाथ लिभ इनमा बस्न थाले ।

झगडापछि हत्या
प्रहरीका अनुसार १८ मेमा दुईबीच झगडा भएको थियो । त्यसपछि आफताबले श्रद्धाको घाँटी थिचेर हत्या गरेका हुन् । हत्या गरेपछि उनले श्रद्धाको शवलाई ३५ वटा टुक्रा बनाएर फ्रिजमा राखे । उनी हरेक रात २ बजे फ्ल्याटबाट निस्कन्थे र दिल्लीका विभिन्न क्षेत्रमा शवका टुक्रा लुकाउँथे ।

आफताबले आरा प्रयोग गरेर शवलाई टुक्रा पारेको बयान दिएका छन् । बयान अनुसार उनले पहिले श्रद्धाको हात तीन टुक्रा पारे, त्यसपछि खुट्टा तीन टुक्रा पारेका थिए । शवलाई टुक्रा टुक्रा पारेपछि हरेक रात झोलामा राखेर फाल्न लैजान्थे ।

छोरीले फोन उठाउन छोडेपछि परिवार दिल्ली पुग्यो
१८ मेपछि श्रद्धाले परिवारको फोन उठाउन छाडेकी थिइन् । त्यसबाट चिन्तित भएर बुबा विकास मदन छोरीको अवस्था जान्न नोभेम्बर ८ मा दिल्ली पुगेका थिए । उनको डेरा पुग्दा ताला लगाइएको थियो । त्यसपछि बाबुले महरौली प्रहरीमा छोरी अपहरण परेको शंकाका आधारमा उजुरी दर्ता गराए ।

बिहेका लागि श्रद्धा दबाब बनाउँथिन्
बुवाको उजुरीका आधारमा प्रहरीले शनिबार अफताबलाई नियन्त्रणमा लिएको हो । सोधपुछका क्रममा उनले दुईबीच पटक पटक झगडा हुने गरेको बताएका छन् । श्रद्धा बिहेका लागि दबाब दिइरहेकी थिइन् । त्यहीँ भएर हैरान भएका उनले प्रेमिकाको हत्या गरेका हुन् । अहिले प्रहरीले आफताबमाथि हत्या अभियोगको मुद्दा दर्ता गरेर श्रद्धाको शवको टुक्रा खोजी गरिरहेको छ । Source 

सम्बन्धित खबरहरु