१९ माघ, काठमाडौं । लिओनल मेस्सीको निर्णायक गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियललाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडमाथि दबाव कायमै राखेको छ । बार्सिलोनाको २१ खेलबाट ५० अंक भएको छ भने रियल मड्रिडको ५१ अंक छ र उसले एक खेल कम खेलेको छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा भिल्लारियलले दुई पटक अग्रता लिएपनि जोगाउन सकेन ।खेलको ३० औं मिनेटमा डेभिस चेरिशेवले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए ।
तर, पहिलो हाफको अन्तिम समयमा नेयमारले बराबरी गोल फर्काए । रफिन्हाको प्रहार भिलरियलले पन्च गरेपछि बाउन्स भएको बलमा उनले गोल गरे ।
दोस्रो हाफको ५१ औं मिनेटमा भीटोले गोल गरेपछि बार्सिलोना २–१ ले पछि पर्यो ।
तर, त्यसको दुई मिनेटपछि नै रफिन्हाले घरेलु टोलीका लागि बराबरी गोल गरे । स्वरेजको पासमा मेस्सीको हेड विपक्षी खेलाडीमा ठोक्किएर फर्किएको बलमा उनले गोल गरेका हुन् ।
खेलको ५५ औं मिनेटमा स्वरेजको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र बार्सिलोना विजयी भयो ।