काठमाडौं । २७ वर्षीया श्रद्धा वाल्कर मुम्बईको मलाड निवासी थिइन् । उनी एक बहुराष्ट्रिय कम्पनीको कल सेन्टरमा काम गर्थिन् ।

उनीसँगै २८ वर्षीय अफताब अमीन पूनावाला पनि कल सेन्टरमा काम गर्थे । दुई जनाको मुम्बईमा डेटिङ एप मार्फत चिनजान भएको थियो ।

उनीहरू तीन वर्षदेखि लिभ–इन रिलेशनशिपमा थिए र दिल्ली सरेका थिए । तर परिवारका सदस्यहरू यसबाट सन्तुष्ट थिएनन् । आमा-बाबुको कुरा नसुनेर दुवै मुम्बईबाट दिल्ली आएर फ्ल्याटमा एकसाथ लिभ इनमा बस्न थाले ।

त्यसबेला श्रद्धालाई लाग्थ्यो पूनावालाले उनलाई आमाबाबुले भन्दा धेरै माया गर्छन् र कहिल्लै धोका दिँदैनन् । विवाहपूर्व लामो समय एकसाथ बस्न थालेपछि श्रद्धाले विवाहका लागि अफताबसँग कुरा गर्न थालिन् । जसको लागि आफूलाई जन्म दिने आमाबाबु छोडेर आएकी थिइन्, उनले बिहे गर्न मानेनन् ।

विवाहका विषयमा प्राय: झगडा हुन्थ्यो । विवाहका लागि गरेको अनुरोधको जवाफमा उनले श्रद्धाको घाँटी थिचेर हत्या गर्दिए । हत्यापछि लाशलाई ३५ वटा टुक्रा बनाएर फ्रिजमा राखे । पूनावाला हरेक रात २ बजे फ्ल्याटबाट निस्कन्थे, अनि शवका टुक्रा जंगलमा लुकाउँथे । यसरी सिंगो शव व्यवस्थापन गर्न उनलाई १८ दिन लाग्यो । शवलाई टुक्रा पार्न अफताबले आरा प्रयोग गरेका रहेछन् ।

छोरीले घर छोडेपनि घरमा सम्पर्क हुन्थ्यो । तर १८ मेपछि लामो समयसम्म कुरा भएन् । छोरीसँग कुरा गर्न नपाएपछि चिन्तित भएर बुबा विकास मदन वाल्कर छोरीको अवस्थाबारे जानकारी लिन नोभेम्बर ८ मा दिल्ली पुगे । छोरीको डेरा पुग्दा ताला लगाइएको थियो ।

त्यसपछि बाबुले महरौली प्रहरीमा छोरी अपहरण परेको शंकाका आधारमा उजुरी दर्ता गराएका थिए । बुवाको उजुरीका आधारमा प्रहरीले शनिबार अफताबलाई नियन्त्रणमा लिएपछि यो सबै कुरा बाहिर आएको हो ।

दिल्ली प्रहरीका अनुसार श्रद्धाको हत्या गरेपछि रगत सफा गर्ने र मानव शरीर रचनाको बारेमा उनले पढेका थिए । सोधपुछमा अफताबले मे १८ मा श्रद्धाको हत्या गरेपछि शव फाल्ने योजना बनाएको खुलेको छ । उनले प्रहरीसँग मानव शरीर रचनाको बारेमा पढेको बताए, ताकि शरीर टुक्रा पार्न मद्दत मिलोस् ।

प्रहरीले अफताबको विद्युतीय सामाग्री नियन्त्रणमा लिएको छ । त्यसको राम्रोसँग जाँच गरिने प्रहरीले जनाएको छ । विद्युतीय सामाग्री र गुगल सर्च हिस्ट्री (इतिहास) जाँच गरेपछि प्रहरीले थप कुरा पत्ता लगाउने विश्वास गरिएको छ ।

सम्बन्धित खबरहरु