काठमाडौं । एक बाबुले आफ्नै जवान छोरीको हत्या गरेका छन् । भारत, दिल्ली मथुराको यमुना एक्सप्रेसवेको किनारमा नोभेम्बर १८ गते (शुक्रबार) बिहान ११ बजे रातो रंगको सुटकेस भेटिएको थियो ।

सुटकेस खोल्दा त्यसमा एक किशोरीको शव थियो । रगतले लतपतिएको लाश देखेर सबैको होस उड्यो । किशोरीको टाउको, हात र खुट्टामा गहिरो चोट थियो । डरलाग्दो कुरा के भने उनको छातीमा गोली पनि लागेको थियो ।

श्रद्धा वाल्कर हत्या प्रकरणको चर्चाले गर्दा आम मानिस र सञ्चारमाध्यमले यो घटनालाई पनि गम्भीरताकासाथ लिए । जसकारण यो घटनालाई लिएर पनि निकै चर्चा भयो । प्रहरीले यस विषयमा अनुसन्धान गर्यो ।

अनुसन्धानपछि बाहिर आएको कुराले सबैलाई हैरान बनायो । सुटकेसमा मृत फेला परेकी किशोरी दिल्ली निवासी थिइन् । उनको हत्या गरेर शव मथुरामा कसले फाल्यो भन्ने कुरा पनि बाहिर आएको छ ।

आयुषीको हत्या कसले गर्यो ?
आजतकका सन्तोष शर्मा र मदन गोपाल शर्माको समाचार अनुसार यसलाई ‘अनर किलिङ्ग’ भनिएको छ । २१ वर्षीया आयुषी यादवको हत्यारा अरु कोही नभएर उनका आफ्नै बाबु हुन् । उनका बुबाले गोली हानेर हत्या गरेका थिए । त्यसपछि मथुराको राय क्षेत्रमा छोरीको शव सुटकेसमा फालेका हुन् ।

प्रहरीले आरोपित बाबु नितेश यादवलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ । हत्यामा प्रयोग भएको हतियार र शव फाल्न प्रयोग गरिएको कार पनि बरामद भैसकेको प्रहरीले जानकारी गरायो ।

समाचार अनुसार मथुराका अतिरिक्त प्रहरी उपरीक्षक एमपी सिंहका अनुसार आयुषी १७ नोभेम्बरको बिहान घरमा कसैलाई केही पनि जानकारी नगरी घरबाट निस्केकी थिइन् । छोरी फर्किएपछि रिसाएका बाबुले गोली चलाए । छोरी मारेर उनले शव सुटकेसमा राखेर राति आफ्नै कारमा लगेर यमुना एक्सप्रेसवेको किनारमा फालेका हुन् ।

आमा र भाइले गरे लाश पहिचान
त्यसको भोलिपल्ट १८ तारिखमा यमुना द्रुतमार्गको सर्भिस रोडको झाडीमा रातो सुटकेस फेला पर्यो । सुटकेसभित्र किशोरीको शव थियो । त्यसपछि प्रहरीले आठ जनाको टोली बनाएर यस विषयमा अनुसन्धान गरिरहेको थियो ।

अनुगमन टोलीले करिब २० हजार मोबाइल नम्बर ट्रेस गरेको थियो । अनुसन्धानका क्रममा बाटोमा जडान गरिएका दुई सयभन्दा बढी सिसिटिभी फुटेज पनि हेरियो ।

मृतकको पोस्टर दिल्ली–एनसीआर, अलिगढ र हाथरसमा राखियो । अनुसन्धानपछि शव आयुषी यादवको भएको खुल्यो । आयुषी दिल्लीको बदरपुर निवासी थिइन् । छोरी हराएको खबर पनि परिवारका सदस्यले दर्ता गराएका थिएनन् । शव पाएलगत्तै आमा र भाइ पोष्टमार्टम केन्द्र पुगेर चिने । बाबुले छोरीको हत्या किन गरेका हुन भन्ने कुरा खुल्न सकेको छैन् ।

सम्बन्धित खबरहरु