काठमाडौं । संविधानसभाको बैठक आगामी माघ २२ गते दिउँसो एक बजे बस्ने भएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सोमवार आगामी बैठकको मिति तोकेको संविधानसभा सचिवालयले जनाएको छ । माघ ११ गते प्रश्नावली प्रस्ताव समिति गठनसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
प्रश्नावली प्रस्ताव समितिले गठन गरेको प्रश्नावली मस्यौदा समितिले भने मंगलवार अपरान्हसम्म प्रश्नावली बनाएर पेश गर्ने तयारी गरेको छ ।
प्रश्नावली प्रस्ताव समितिलाई अस्वीकार गरेका एकीकृत माओवादी र मधेशी मोर्चाले सो समिति खारेजीको माग गरिरहेका छन् ।
संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा प्रश्नावली बनाउन नमिल्ने भनेपछि राप्रपा नेपालले समेत समिति बहिस्कार गर्दै कडा प्रतिरोधको चेतावनी दिइसकेको छ ।
विपक्षमा रहेका सबै सबै दलहरुको अवरोधका बीच संविधानसभाको बैठक बस्न लागेको हो ।