काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी हुनुभएको छ ।

आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो । धिताल उहाँ वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ ।

राजेन्द्रकुमार केसीको राजनीतिक यात्रा
काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । छौँसठ्ठी वर्षीय उहाँ बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी हुनुभएको हो । चौध हजार चार सय ५८ मतसहित विजयी हुनुभएका केसीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हिमेस केसीलाई दुई हजार छ सय ७२ मततान्तरले पछि पार्नुभएको हो ।

उहाँले भन्नुभयो “मैले यसअघि गरेको राम्रो कामले मतदाताको विश्वास जितेका कारण तेस्रो पटक पनि विजयी भएको छु । आममतदाताप्रति यो विश्वासका लागि धन्यवाद दिन चाहन्छु । म निष्पक्ष र निष्कलङ्क भएर काम गर्न चाहन्छु ।”

लामो समय राजनीतिक एजेन्डामा काम गरेको र अब आर्थिक विकासका लागि काम गर्ने केसीले बताउनुभयो, “मुलुकको एजेन्डा आर्थिक विकास हो । समृद्धको यात्रा नै मेरो एजेन्डा हो ।”

कीर्तिपुर ६, चोभारको स्थायी बासिन्दा उहाँले संविधानसभा सदस्यको निर्वाचन २०७० देखि संसदीय यात्रा सुरु गर्नुभएकामा पहिलो पटक काठमाडौँ १० बाट नै निर्वाचित हुनुभएको थियो । केसी दोस्रो पटक ०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनाका साथै सोही वर्ष युवा तथा खेलकुदमन्त्री बन्नुभएको थियो । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर चर्चामा आउनुभएका केसी पहिलो संविधानसभा सदस्यको निर्वाचनमा प्रचण्डसँगै पारजित हुनुभएको थियो ।

स्नातकोत्तरसम्म अध्ययन गर्नुभएको उहाँको राजनीतिक यात्रा भने विसं २०३० देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो । विसं २०४६ देखि पार्टीगत राजनीतिमा सक्रिय हँुदै केसी २०५१ र ०५६ सालमा कांग्रेसको क्षेत्रीय सभापति बन्नुभयो । चार पटकसम्म कांग्रेस महासमिति सदस्य रहनुभएका उहाँ कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड सदस्य र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध हुनुभएको थियो । रासस

 

 

सम्बन्धित खबरहरु