काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धबीच भारतीय सैन्य अधिकारीले पाकिस्तानलाई लिएर आक्रामक बयान दिएका छन् ।

पाकिस्तान प्रशासित कश्मीरको बारेमा भारतीय सेनाको उत्तरी कमाण्डका एक अधिकारीले दिएको बयानले तनाव सिर्जना गरेको हो । ती अधिकारीको बयानमा पाकिस्तानी सेनाले जवाफ दिएको छ । पाकिस्तानी सेनाले यसलाई राजनीतिक रूपमा प्रेरित र भ्रामक भन्यो ।

भारतीय सेनाको उत्तरी कमाण्डका कमाण्डिङ इन चीफ लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीले भनेका थिए, ‘भारत सरकारले जब पनि आदेश दिन्छ तब पीओकेमा कारबाही गर्न सेना तयार छ ।

भारतीय सेना सरकारको हरेक आदेशको लागि तयार छ ।’ बयानमा उनले भारतमा घुसपैठ गर्न पाकिस्तानी लन्चप्याडहरूमा १६० आतंककारीहरू भएको दाबी गरेका थिए । उनले भनेका छन्, ‘हामी तिनीहरूको मनसाय सफल हुन दिँदैनौं ।’

यसको जवाफमा पाकिस्तानी सेनाका प्रवक्ता डीजी इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर) ले भनेको छ, ‘आजाद जम्मु कश्मीरको बारेमा भारतीय सेनाका उच्च अधिकारीको अनुपयुक्त बयानले भारतीय सशस्त्र सेनाको भ्रमपूर्ण मानसिकता देखाउँछ । भारतीय सैन्य विचारहरूले घरेलु राजनीतिको छाप बोक्छ ।’

जारी बयानमा थप भनिएको छ, ‘तथाकथित लन्चप्याडहरू र आतंकवादीहरूको बारेमा भ्रामक टिप्पणी र आधारहीन आरोपहरू भारतीय सेनाले आफ्नो आत्मनिर्णयको अधिकारको लागि संघर्ष गरिरहेका निर्दोष कश्मीरीहरूविरुद्ध सेनाको बल प्रयोग र मानवअधिकार उल्लङ्घनबाट ध्यान हटाउने प्रयास हो ।

कश्मीरीहरूको अधिकारलाई अन्तर्राष्ट्रिय कानूनले समर्थन गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूमा पनि समावेश गरिएको छ ।’

डीजी आईएसपीआरले अगाडि भन्यो, ‘एक भारतीय सेना अधिकारीको घमण्डी दावी र वास्तविक महत्वाकांक्षा बौद्धिक रूपमा आपत्तिजनक छ । पाकिस्तानी सेना राम्रो कामका लागि बल हो र क्षेत्रीय शान्ति र स्थिरताको वकालत गर्दछ । यद्यपि, शान्तिको लागि यो चाहना हाम्रो क्षेत्रविरुद्ध कुनै पनि दुस्साहस वा आक्रमणलाई विफल पार्ने हाम्रो क्षमता र तयारीको साथमा छ ।’

पाकिस्तानी सेनाले थप्दै भनेको छ,‘यो कुरा पछिल्लो समय बालाकोट काण्ड लगायत धेरै घटनामा प्रमाणित भएको छ । क्षेत्रीय शान्तिको हितमा यो राम्रो हुनेछ । यदि भारतीय सेनाले आफ्ना राजनीतिक मालिकहरूको लागि चुनावी समर्थन जुटाउन गैरजिम्मेवारपूर्ण बयानहरू गर्नबाट टाढा रह्यो भने क्षेत्रीय शान्तिको हितमा यो राम्रो हुनेछ ।’

सम्बन्धित खबरहरु