काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ ।

बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मगतणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा केही ढिलाइ भएको उहाँको भनाइ छ । कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ ।

आयोगका अनुसार हालसम्म ५३ स्थानको नतिजा आइसकेको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२, नेकपा (माओवादी केन्द्र) छ, नेकपा (एकीकृत समाजवादी) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन र अन्य दल तथा उम्मेदवार आठ स्थानमा विजयी भएका छन् ।

बाँकेको क्षेत्र नं १ मा एमालेका ढकाल विजयी
बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्य ढकाल विजयी हुनुभएको छ । उहाँ २५ हजार २६ मत प्राप्त गरी निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिनुभयो ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गहतराजले १९ हजार छ सय ३२ मत पाउनुभएको छ । सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दा राष्टिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गर्नुभएको छ । तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ । उक्त क्षेत्रको प्रदेशसभातर्फको मतगणना जारी छ । रासस

 

 

सम्बन्धित खबरहरु