
काठमाडौं । झापा–५ (१) बाट नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँले नेपाली कांग्रेसका उम्मेदवार जीवनकुमार राईलाई पराजित गर्नुभएको हो । कार्कीले २२ हजार पाँच सय ३० मत प्राप्त गर्दा राईले १७ हजार ५८ मत प्राप्त गर्नुभयो ।
कार्की यसअघि सोही निर्वाचन क्षेत्रबाट विसं २०७४ मा प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
सुर्खेत–१ प्रदेशसभा (२) मा माओवादीका जिसी विजयी
सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (२) नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कृष्णबहादुर जिसी विजयी हुनुभएको छ । जिसी २१ हजार सात सय ३४ मत ल्याएर विजयी हुनुभएको हो । जिसी चार हजार एक सय ९६ मतान्तरले विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का डण्डीप्रसाद शर्माले १७ हजार पाँच सय ३८ मत ल्याउनुभएको छ । राप्रपाका मानबहादुर खरालले एक हजार चार सय ८३, स्वतन्त्र उम्मेदवार दीपेन्द्रनाथ योगीले चार सय ५१, जनता समाजवादी पार्टीका कृपाराम बस्नेतले तीन सय ५७, राष्ट्रिय जनमोर्चाका मोहन थापाले तीन सय २८, नेपाल मजदुर किसान पार्टीका मनकली रामजालीले ६३ मत र स्वतन्त्र उम्मेदवार देवबहादुर चन्दले नौ मत प्राप्त गर्नुभएको छ ।रासस