काठमाडौं । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ ।

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेको थिए । बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत हुनुभएको थियो ।

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व समेत गर्नुभएको थियो । उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।

तेह्रथुम प्रदेशसभा(१) ः एमालेका दुलाल विजयी
तेह्रथुमको प्रदेशसभा (१)मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गर्नुभएको थियो ।

मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पछि पार्नुभएको हो ।

प्रदेशसभा (१)अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिका रहेका छन् । यस क्षेत्रमा ४९ हजार एक सय २१ मतदाता रहेकामा २२ हजार चार सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

 

 

सम्बन्धित खबरहरु