काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहनुभएका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लाग्नु भएको हो ।

बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गर्नुभएको हो । चौधरीले २९ हजार चार सय ९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार तीन सय आठ मत प्राप्त गर्नुभयो ।

विसं २०१२ वैशाख १ गते जन्मनु भएका चौधरी काठमाडौँ महानगरपालिका–१४ का बासिन्दा हुनुहुन्छ । करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहनुभएका उहाँ विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । दल प्रवेश गरेसँगै उहाँ संविधानसभा सदस्य बन्नुभएको थियो । नेकपा एमालेबाट समानुपातिक सभासद बन्नुभएका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकाङ्क्षी रहनुभए पनि उहाँले चुनाव लड्नु भएन ।

विसं २०७४ मा भएको सङ्घीय संसद् निर्वाचन अघि उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभयो र समानुपातिकतर्फको सांसद बन्नुभयो । यो अवधिमा उहाँले सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिमा रहेर काम गर्नुभयो । गतवर्ष मङ्सिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट चौधरी कांग्रेसको केन्द्रीय सदस्यमा चुनिनु भयो ।

‘जनताबाट अनुमोदित भएर राजनीति गर्न चाहेको’ बताउँदै आउनुभएका चौधरी अहिले प्रत्यक्षबाटै निर्वाचित भएर संसद्को यात्रामा अघि बढ्नुभएको छ । चुनावी प्रचार–प्रसारका क्रममा उहाँले पटक–पटक ‘राजनीतिबाट मात्रै परिवर्तन सम्भव रहेकाले अब आफू पूर्णकालीन राजनीतिमा लाग्ने’ अभिव्यक्ति दिनुभएको थियो । त्यस्तै, नेपाललाई समुन्नत र विकासशील राष्ट्र बनाउनका लागि आर्थिक रुपान्तरणको खाँचो आवश्यक रहेको र त्यसको खाका आफूले बनाउने पनि उहाँले बताउँदै आउनुभएको छ ।

संविधानसभा र संसदीय भूमिकामा मात्र नभई नेपालको निजी क्षेत्रमा पनि चौधरीको अभिवाकीय भूमिका रहँदै आएको छ । उहाँ सन् १९९३ देखि १९९५ सम्म नेपाल उद्योग वाणिज्य महासङ्घ र सन् २००२ देखि २०१२ सम्म नेपाल उद्योग परिसङ्घको अध्यक्ष बन्नुभएको थियो ।

त्यस्तै, सन् १९८९ देखि १९९३ सम्म नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र सन् १९९१ देखि १९९३ सम्म नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा उहाँ रहनु भएको थियो । सन् १९९० देखि १९९३ सम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को ‘गभर्निङ बडी मेम्बर’ का रुपमा चौधरीले काम गर्नुभएको थियो ।

व्यवसायलाई विस्तार गर्दै उहाँ एक सफल उद्योगी बन्नुभएको छ । विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोब्र्स’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक हुनुहुन्छ । फोब्र्सको अर्बपति सूचीमा अहिले उहाँ एक हजार नौ सय २९औँ स्थानमा हुनुहुन्छ ।

विश्वका ३० भन्दा बढी देशमा व्यवसाय फैलाएको चौधरी ग्रुप (सीजी) को नेतृत्व चौधरीले गरिरहनुभएको छ । सीजीअन्तर्गत करिब चार दर्जन कम्पनी र ६० भन्दा बढी ब्रान्ड रहेका छन् । खाद्य तथा पेय, शिक्षा, घरजग्गा, जलविद्युत्, टेलिकम, सिमेन्ट, पूर्वाधार, होटललगायत क्षेत्रमा लगानी रहेको छ ।

उद्योग व्यवसाय र राजनीतिको समिश्रणबाट आफूलाई परिचित गराउन चाहने चौधरी समाजसेवा र परोपकारका काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । परोपकारी कार्यका लागि चौधरी फाउन्डेशन सञ्चालनमा छ । ‘वी केयर फर हुम्युनिटी’ नामक संस्थाले २०७३ सालमा चौधरीलाई ‘एसियन म्यान अफ द इयर’ बाट सम्मानित गरेको थियो । उहाँ शास्वत धाम नवलपरासीका संस्थापक पनि हुनुहुन्छ ।

चौधरीले भारतको श्रीश्री विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाउनुभएको छ । उहाँका विनोद चौधरी (आत्मकथा), राजनीतिसँग जम्काभेट, उद्योगीको आँखामा अर्थतन्त्रलगायत कृति प्रकाशित छन् । चौधरी गल्फ र स्क्वास खेलका सौखिन हुनुहुन्छ । रासस

 

 

सम्बन्धित खबरहरु